काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले नेपालले ऊर्जा क्षेत्रमा अपेक्षित चमत्कारिक प्रगति हासिल गर्न नसकेको स्वीकार गरेका छन्। उनले सरकारी तथा निजी क्षेत्रको सहकार्यबिना ऊर्जा संकटको समाधान सम्भव नभएको बताएका छन्।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपिजिसिएल) र पाँच जलविद्युत् प्रवर्द्धक कम्पनीबीच ६०७ मेगावाट क्षमताका आयोजना राष्ट्रिय ग्रिडमा जोड्ने सम्झौतामा हस्ताक्षर गरिएको छ। उक्त अवसरमा मन्त्री खड्काले समयमै ऊर्जा योजना कार्यान्वयन नगर्दा देश पछाडि परेको बताएका हुन्।

advertisement

“ऊर्जा केवल घरमा बत्ती बाल्नको लागि होइन, देशको आर्थिक र सामाजिक रूपान्तरणका लागि अनिवार्य छ,” मन्त्री खड्काले भने, “सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्रै समाधान सम्भव छ।”

उनले विगतमा नीति अस्पष्टता, ढिलासुस्ती र निर्णयहीनताको कारण सन्तोषजनक ऊर्जा प्रगति हुन नसकेको उल्लेख गर्दै अब ढिला नगरी आयोजना अघि बढाउनुपर्ने बताए।

सम्झौतामा समावेश जलविद्युत् आयोजना:

  • तिला–१ (४४० मेगावाट), कालिकोट
  • मालुमेला सेतीनदी पिकिङ्ग (७२ मेगावाट), बझाङ
  • महाकाली सेती अर्ध जलाशय (५४ मेगावाट), बझाङ
  • अपर मेवा खोला ‘ए’ (३१.९२ मेगावाट), ताप्लेजुङ
  • सुपर दरौँदी (९.१४३ मेगावाट), गोरखा

यी आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न आरपिजिसिएलले आवश्यक प्रसारण लाइन र सबस्टेसन निर्माण गर्नेछ।

आरपिजिसिएलका प्रमुख कार्यकारी अधिकृत ई. सागर श्रेष्ठका अनुसार कम्पनीले हाल ११ वटा उच्च भोल्टेज प्रसारण लाइन निर्माण अघि बढाएको छ, जसमा चालु आर्थिक वर्षभित्र दुई लाइन सञ्चालनमा ल्याउने लक्ष्य छ।

ऊर्जा सचिव तथा आरपिजिसिएलका अध्यक्ष सुरेश आचार्यले निजी क्षेत्रको सहकार्यले ऊर्जा विकासमा नयाँ ढोका खोल्ने विश्वास व्यक्त गरे।

विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले उत्पादनतर्फ प्रगति भए पनि प्रसारण र वितरणतर्फ अझै प्राकृतिक एकाधिकार कायम रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई प्रसारण पूर्वाधार निर्माणमा ल्याउन आवश्यक नियामक संरचना तयार भइरहेको जानकारी दिए।

सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन, प्रसारण, खपत र निर्यात गर्ने लक्ष्य राखेको छ। उक्त लक्ष्य पूरा गर्न १६ हजार सर्किट किलोमिटर प्रसारण लाइन र ४० हजार एमभिए क्षमताका सबस्टेसन आवश्यक पर्नेछ।

प्रकाशित मिति: १८ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com