जनकपुरधाम । जनकपुरधाममा ज्वाइँले आफ्नै ससुरामाथि चक्कु प्रहार गरी हत्या गरेका छन्। जनकपुरधाम उपमहानगरपालिका–१५ कुवारामपुर निवासी ६५ वर्षीय बासुदेवप्रसाद विमलको हत्या आज बिहान आफ्नै घरमा भएको हो।
धनुषा जिल्ला प्रहरी कार्यालयका अनुसार बासुदेवलाई उनका ज्वाइँ, जनकपुरधाम–२१ कुर्था निवासी ४८ वर्षीय बेचन महासेठले बिहान करिब ९:४५ बजे घरमै चक्कु प्रहार गरेका थिए।
प्रहरीका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले घटनाको कारण जग्गासम्बन्धी पुरानो घरायसी विवाद रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिएका छन्। पेटमा चक्कु प्रहार भएपछि गम्भीर घाइते भएका बासुदेवलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जनकपुर पुर्याइएको थियो। तर, साढे १० बजे चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।
हत्या गरेपछि आरोपी बेचन महासेठ फरार भएका छन्। हाल प्रहरी टोलीले उनलाई खोजी कार्य तीव्र बनाएको जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
मृतक बासुदेवप्रसाद विमल जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहका काका पर्ने व्यक्ति हुन्।
प्रकाशित मिति: १८ असार २०८२, बुधबार













प्रतिक्रिया