काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले गठबन्धन सरकार अब दीर्घकालीन नटिक्ने दाबी गरेका छन्।

पेरिसडाँडामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकार ढाल्ने खेलमा आफूहरू नलागेपनि सत्ताको भित्री संरचना कमजोर बन्दै गएको संकेत गरे। उनका अनुसार सरकार सबै कोणबाट असफल भइसकेको छ।

advertisement

“हामी सरकार चलिरहोस् भन्ने पक्षमा छौँ, तर यो सरकार जनताप्रति उत्तरदायी बन्न सकेन,” सापकोटाले भने, “सत्तारूढ दलभित्रै गम्भीर अन्तर्विरोध देखिएको छ। कांग्रेसभित्र आन्तरिक असन्तुष्टि चुलिएको छ, नेतृत्वले त्यो आक्रोश थाम्न सक्ने स्थितिमा छैन।”

उनका अनुसार सत्तारूढ दल नेपाली कांग्रेसको नेतृत्व असफल हुँदा सत्तापक्षभित्र नै असन्तुष्टि र विभाजनको संकेत देखिन थालेको छ।

सापकोटाले एमालेभित्र पनि आन्तरिक लोकतन्त्र समाप्त भइसकेको टिप्पणी गर्दै त्यसले पार्टीलाई विस्फोटनको दिशातर्फ धकेलिरहेको बताए।

“कांग्रेस र एमाले दुवै दलभित्रको अन्तर्विरोधबारे हामीसँग पर्याप्त सूचना छन्। त्यही कारणले यो सरकार धेरै दिन टिक्ने देखिन्न,” उनले दाबी गरे।

यद्यपि सापकोटाले सरकार कहिले ढल्ने भन्ने मिति खुलाएनन्, तर परिस्थिति दिनप्रतिदिन गम्भीर बन्दै गएको बताए। उनका अनुसार माओवादी केन्द्र जनताको पक्षमा उभिएको छ र परिस्थितिको गम्भीर मूल्याङ्कन गरिरहेको छ।

प्रकाशित मिति: १८ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com