काठमाडौं । उज्वेकिस्तानको राजधानी तास्केन्तस्थित बुन्योदकोर स्टेडियममा जारी एएफसी महिला एसियन कप छनोटमा नेपालले दोस्रो खेलमा श्रीलंकालाई ८-० को फराकिलो अन्तरले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ।
नेपालको जितमा कप्तान सावित्रा भण्डारी (साम्बा)ले ह्याट्रिक गर्दै टोलीको नेतृत्वदायी भूमिका निभाइन्। गीता रानाले २ गोल गर्दा, निशा थोकर, रेखा पौडेल र पूजा रानाले समान १–१ गोल थपे। यस जितसँगै नेपालले ६ अंक जोड्दै समुह ‘एफ’ को शीर्ष स्थान कायम राखेको छ।
खेलको सातौं मिनेटमा अनिता बस्नेतको कर्नरमा गीता रानाको हेड गोलमार्फत नेपालको खाता खुल्यो। २०औं मिनेटमा, समीक्षाको क्रसमा श्रीलंकाकी गोलकिपरले बल पन्च गरेकी थिइन्, जसलाई अनिताले सजिलै साम्बालाई पास गरिन् र साम्बाले बक्सभित्रबाट गोल गरिन्।
४२औं मिनेटमा, रश्मी घिसिङको कट ब्याकमा साम्बाले उत्कृष्ट भलि मार्फत दोस्रो गोल गरिन्। इन्जुरी समयको पहिलो मिनेटमा, सबिता राना मगरको क्रसमा साम्बाको हेडर गोलमा परिणत हुँदै ह्याट्रिक पूरा भयो-यो उनका लागि ६०औं खेलमा ६४औं अन्तर्राष्ट्रिय गोल हो।
५३औं मिनेटमा, रश्मीलाई बक्सभित्र फउल गरेपछि नेपाललाई पेनाल्टी मिल्यो, जसमा गीता रानाले सजिलै गोल गरिन्। ६२औं मिनेटमा, अनिताको कर्नरमा निशा थोकरको हेडर गोलमा परिणत भयो- जुन उनको पहिलो अन्तर्राष्ट्रिय गोल हो। ७८औं मिनेटमा, सब्स्टिच्युट पूजा रानाको क्रसमा अर्की सब्स्टिच्युट रेखा पौडेलले हेडर मार्फत गोल गरिन्। ८९औं मिनेटमा, श्रीलंकाकी माहिस्काले क्लीयर गर्न नसकेको बललाई पूजा रानाले गोलमा परिणत गर्दै नेपालको जित ८–० मा सुनिश्चित गरिन्।
नेपालले पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो भने शनिबार समुहको अन्तिम तथा निर्णायक खेल घरेलु टोली उज्वेकिस्तानसँग खेल्नेछ। श्रीलंकाले पहिलो खेलमा उज्वेकिस्तानसँग १०–० को हार व्यहोरेको थियो र यो दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ।
नेपालको यो सशक्त प्रदर्शनले अब उज्वेकिस्तानविरुद्धको अन्तिम खेललाई निर्णायक बनाएको छ, जसमा समूह विजेता बन्ने दाबेदारी अझ बलियो हुने देखिन्छ।
प्रकाशित मिति: १८ असार २०८२, बुधबार













प्रतिक्रिया