काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार सम्पन्न भएको छ। पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
बैठकले असोज मसान्तसम्म सम्पन्न गर्नुपर्ने जिल्ला अधिवेशनहरूलाई प्राथमिकता दिँदै तीव्र गतिमा अघि बढाउने निर्णय समेत गरेको छ। यसैक्रममा, आन्दोलनको थप तयारीस्वरूप पार्टी प्रवेश तथा सक्रिय सदस्यता अभियानलाई व्यवस्थित गर्न ७७ वटै जिल्लामा मुख्य नेतृत्व समेत सहभागी केन्द्रीय पर्यवेक्षकहरू खटाइनेछ।
बैठकले रुपन्देही–३ मा हुने उपनिर्वाचनको सन्दर्भमा आवश्यक तयारी थाल्ने निर्णय पनि गरेको छ। त्यसका लागि सम्भावित उम्मेदवारहरूको प्रारम्भिक सिफारिस पेश गर्न जिल्ला कार्यसमितिलाई निर्देशन दिइएको छ। निर्वाचन तयारीलाई प्रभावकारी बनाउन उपाध्यक्ष ध्रुव प्रधानको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय पनि बैठकले लिएको छ।
बैठकले पछिल्ला दिनमा चर्चामा रहेको भिजिट भिसा प्रकरण तथा निजामती सेवा विधेयकमा देखिएको चलखेलप्रति पनि आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेको छ।
राप्रपाले देशको राजनीति, सुशासन र सार्वजनिक प्रशासनमा देखिएको अन्योलप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सशक्त हस्तक्षेप गर्ने संकेत समेत दिएको छ।

प्रकाशित मिति: १९ असार २०८२, बिहिबार













प्रतिक्रिया