काठमाडौं । इरानमाथिको सैन्य कारबाहीमा प्रयोग नभएका बम र मिसाइलहरू इजरायली युद्धक विमानले गाजामा खसालेको खुलासा भएको छ । बेलायती पत्रिका द टेलिग्राफका अनुसार, इजरायलका पाइलटहरूले इरानमा आक्रमणपछि बाँकी रहेका हतियार गाजामा प्रयोग गर्न प्रस्ताव गरेका थिए, जुन इस्रायली सेनाको ग्राउन्ड कमान्डबाट स्वीकृत भएको थियो ।

सैन्य स्रोतको हवाला दिँदै टेलिग्राफले लेखेको छ, इजरायली वायुसेनाका कमान्डर मेजर जनरल टोमर बारले इरानमाथिको कारबाहीपछि बाँकी हतियार गाजामा प्रयोग गर्न स्पष्ट निर्देशन दिएका थिए । त्यसपछि युद्धक विमानहरूले इरानमा प्रहार नगरेका बम तथा मिसाइल गाजाको विभिन्न भागमा खसालेका थिए ।

advertisement

विश्व समुदायको ध्यान इरानमाथि भइरहेको ‘अपरेसन राइजिङ लायन’ ( जुन १४ देखि २४ सम्म) मा केन्द्रित भएको समयमा इजरायलले गाजामाथि समेत तीव्र आक्रमण सञ्चालन गरेको बताइएको छ । यसलाई एकैसाथ दुई मोर्चामा कारबाही गर्दै इजरायली सेनाले रणनीतिक लाभ लिएको भनिएको छ ।

यद्यपि, प्रारम्भिक केही आक्रमणबाहेक गाजामाथि गरिएका अधिकांश आक्रमण न त स्पष्ट रूपमा योजनाबद्ध थिए, न त वैधानिक सैन्य लक्ष्यमा केन्द्रित, टेलिग्राफको विश्लेषणमा उल्लेख छ ।

गाजामा त्यही अवधिमा विशेषगरी सहायता वितरण केन्द्रहरूसँगैका क्षेत्रमा भयानक बमबारी भयो । जसले गम्भीर मानवीय संकट निम्त्याएको छ ।

जुन १८ मा गाजाको मगाजी शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणबाट एक महिला र उनका बालबालिकासहित १० जनाको ज्यान गएको वाफा समाचार एजेन्सीले जनाएको छ । सोही दिन खान युनिसस्थित अल–अत्तर टेन्ट क्षेत्रमा गरिएको अर्को आक्रमणमा पाँचजनाको मृत्यु भएको बताइएको छ ।

समग्रमा गाजामाथिका ती हवाई कारबाहीहरूमा सयौँको ज्यान गएको अनुमान छ, तर वास्तविक सङ्ख्या अझै प्रस्ट छैन ।

प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com