काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एक साताको स्पेन भ्रमण सकेर शुक्रबार अपराह्न स्वदेश फर्किएका छन्। तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि प्रधानमन्त्री ओलीले पत्रकारहरूसँग कुनै संवाद नगरी विमानस्थलबाट बाहिरिएका छन्।
परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले प्रधानमन्त्रीको तर्फबाट संक्षिप्त प्रेस ब्रिफिङ गर्दै प्रधानमन्त्री पत्रकार भेटमा नआउने जानकारी दिए। सचिव राईले अन्तर्राष्ट्रिय अभ्यास अनुसार राष्ट्रप्रमुख वा प्रधानमन्त्रीको भ्रमणपछि प्रवक्ता वा सचिवमार्फत पत्रकार सम्मेलन गरिने प्रचलन भएको बताए।
“यसअघि पनि राष्ट्रप्रमुखको भ्रमणपछि परराष्ट्र मन्त्रालयका प्रवक्ता वा सचिवले पत्रकारसँग जानकारी आदानप्रदान गर्दै आएका छन्,” सचिव राईले भने, “यो अन्तर्राष्ट्रिय रूपमा पनि मान्य अभ्यास हो, त्यसैले यहाँहरूले पनि यही ढाँचामा बुझ्नु हुन्छ भन्ने अपेक्षा राखेको छु।”
प्रधानमन्त्री ओली स्पेनको सेभिया सहरमा आयोजित ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी भएर शुक्रबार स्वदेश फर्किएका हुन्।
प्रकाशित मिति: २० असार २०८२, शुक्रबार













प्रतिक्रिया