रौतहट । सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्कालाई सार्वजनिक रूपमा अपशब्द प्रयोग गरेपछि पक्राउ पुर्जी जारी भएका जनता समाजवादी पार्टी (जसपा)का मधेस प्रदेश नेता तथा पूर्व प्रदेशसभा सदस्य अशोक कुमार यादवको आपराधिक पृष्ठभूमि बाहिर आएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले शनिबार सार्वजनिक गरेको विवरणअनुसार, यादव लामो समयदेखि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहँदै आएका छन्।
प्रहरीको अभिलेखअनुसार, यादवमाथि चोरी, अभद्र व्यवहार र ज्यान मार्ने उद्योगजस्ता गम्भीर अभियोगमा मुद्दा दर्ता छन्। उनीविरुद्ध यस्ता घटनाहरूमा पटक–पटक संलग्न रहेको प्रमाण पनि फेला परेको प्रहरीले जनाएको छ।
मुद्दाहरूको विस्तृत विवरण:
- २०५७ पुस ८ गते: मलंगवा नगरपालिका-१० स्थित जिल्ला कृषि विकास कार्यालयमा कार्यरत नथुनी साहमाथि गालीगलौज र हातपात।
- २०६६ असोज १० गते: सलेमपुर, सर्लाहीस्थित जिल्ला शिक्षा कार्यालयको गाडी रोकी, सिसा फुटाई १ लाख ५० हजार ४०० रुपैयाँ नगद लुटिएको आरोप।
- २०७२ पुस ५ गते: जिल्ला प्रशासन कार्यालय, सर्लाहीको नागरिकता तथा राहदानी फाँटमा कम्प्युटर, प्रिन्टर तोडफोड र कर्मचारीमाथि हुलहुज्जत गरी अभद्र व्यवहार गरेको।
- २०७२ फागुन ५ गते: मादक पदार्थ सेवन गरी ड्युटीमा खटिएको प्रहरी टोलीमाथि गालीगलौज गरेको। (मुद्दा: अभद्र व्यवहार)
- २०७३ साउन १३ गते: सिँचाइ विकास डिभिजन कार्यालय, मलंगवाका कर्मचारीलाई फोनमार्फत ज्यान मार्ने धम्की दिएको। (मुद्दा: अभद्र व्यवहार)
- २०७३ मंसिर २९ गते: सलेमपुर, सर्लाहीमा प्रहरी चेकजाँचमा अवरोध, गालीगलौज र हातपातको प्रयास।
- २०७७ जेठ २७ गते: चक्रघट्टा, सर्लाही सडक जग्गा सम्बन्धी विवादमा राज नारायण रायमाथि कुटपिट गरेको, जसका लागि ज्यान मार्ने उद्योग मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
एसपी खड्कामाथि अभद्र भाषा प्रयोग गरेपछि जारी अनुसन्धानक्रममा यादवको आपराधिक इतिहास सार्वजनिक गरिएको हो। प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी छ।
प्रकाशित मिति: २१ असार २०८२, शनिबार












प्रतिक्रिया