काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वप्रति कटाक्ष गर्दै “धेरै हँसिया बनाए पनि घाँस काट्न नसकेको” टिप्पणी गरेका छन्।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै डा. भण्डारीले सभापति देउवाले थुप्रै नेताहरुलाई पद र जिम्मेवारी वितरण गरे पनि त्यसको ठोस परिणाम नदेखिएको बताए। उनले प्रधानमन्त्री बन्ने सम्भावना रहेको व्यक्तिले आगामी निर्णय र कार्ययोजना बारेमा पहिल्यैबाट स्पष्ट तयारी गर्नुपर्नेमा जोड दिए। “कार्यभार पाउँदा मात्र सोच्ने होइन, तयारी पहिल्यै हुनुपर्छ,” उनले भने।
भण्डारीले पार्टीको प्रशिक्षण प्रणालीलाई सुधार्नुपर्ने आवश्यकता औंल्याउँदै प्रशिक्षणका विषयवस्तु र प्रशिक्षकहरूको छनोटमा आमूल परिवर्तन गर्नुपर्ने धारणा राखे पार्टीका भातृ संगठनहरूमा निर्वाचन नभई मनोनयनमार्फत जिम्मेवारी दिँदा तिनको प्रभावकारीता कमजोर भएको उल्लेख गर्दै उनले भने, “मिति आफू बनाउने, तर सञ्चालन अर्कालाई दिँदा परिणामहीन बन्छ।”
पार्टीभित्र देखिएको आपसी द्वन्द्वप्रति पनि उनले गम्भीर चिन्ता व्यक्त गर्दै त्यसलाई समाधानतर्फ मोड्न नेतृत्व सक्रिय बन्नुपर्नेमा जोड दिए। जलस्रोत सम्बन्धी नयाँ नीतिले सीमान्तकृत समुदायलाई सेयर प्रदान गरेर गरिबी निवारणमा सहयोग गर्ने भएकाले कांग्रेसले त्यस नीतिलाई अपनत्व लिनुपर्ने उनको भनाइ थियो।
भण्डारीले पार्टीको आगामी महाधिवेशनले निर्वाचनलाई प्रभावित नपार्ने गरी समयमै र व्यवस्थित ढंगले सम्पन्न गर्नुपर्ने धारणा राखे। साथै, सामाजिक सञ्जालमा उठेका विषयहरूलाई गम्भीरतापूर्वक सुन्ने, विश्लेषण गर्ने र सरकारका काम कारबाहीमा कठोर समीक्षा गरेर सुधार गर्नुपर्ने बताए। राष्ट्रपति वा उपराष्ट्रपतिको पद सम्हालिसकेका व्यक्तिहरू पार्टीमा सामान्य सदस्यको रूपमा फर्किँदा जनतामा राजनीतिप्रतिको वितृष्णा थपिने भन्दै उनले चिन्ता व्यक्त गरे।
निजामती विधेयक पारित गर्दा देखिएको कमजोरी कुनै एक व्यक्तिको नभई सम्पूर्ण सांसदहरूको साझा जिम्मेवारी भएको भन्दै उनले दोषारोपणभन्दा आत्मालोचनाको आवश्यकता औंल्याए। विद्यालय शिक्षा विधेयक, युवाशक्तिको पलायन, कृषकका लागि मल–बिउ र अनुदान, रूपन्देही र मनाङमा हुने उपनिर्वाचनजस्ता समसामयिक विषयमा पनि डा. भण्डारीले धारणा राखे।
सप्ताहदिनदेखिको केन्द्रीय कार्यसमितिको बैठक अन्तिम चरणमा पुगेको छ। आज पदाधिकारीहरूको जवाफी सम्बोधनपछि बैठकका निर्णय सार्वजनिक गर्दै समापन गरिने तयारी गरिएको छ।
प्रकाशित मिति: २२ असार २०८२, आइतबार













प्रतिक्रिया