काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज गुरागाईंले काठमाडौं टावरको नक्सा पास प्रकरणमा आफूमाथि लगाइएको आरोप भ्रामक र कपोलकल्पित रहेको बताएका छन्।
एक कार्यक्रमका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गुरागाईंले आफूमाथि नक्सा स्वीकृतिसँग जोडेर गरिएको आरोप निराधार रहेको स्पष्ट पारे। “मैले पहिले भएका निर्णयलाई मात्र इन्डोर्स गरेको हुँ,” उनले भने, “नियमविपरीत केही गरेको प्रमाणित भएमा कारबाही भोग्न तयार छु, तर जथाभावी आरोप लगाउनु अनुचित हो।”
उनले नक्सा पासको प्रक्रिया मेयरको निर्देशनअनुसार अघि बढाइएको उल्लेख गरे। कागजातअनुसार काठमाडौं टावरको नक्सा सम्बन्धी फाइल तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीमार्फत २०८० मंसिर २७ गते मेयर बालेन्द्र साह (बालेन) समक्ष पेश भएको थियो। त्यसपछि पुस २ गते मेयर साहले पाँच लाख जरिवाना तिराउने आदेश दिएका थिए। गुरागाईंले सोही आदेशअनुसार फाइल स्वीकृत गरेको बताएका छन्।
गुरागाईंले स्वीकृत फाइलमा मिति, आदेश र पूर्व प्रशासकीय निर्णय स्पष्ट उल्लेख रहेको जनाउँदै त्यसलाई जोडेर लगाइएको आरोप आधारहीन भएको बताए। “यदि कसैले प्रमाणसहित गल्ती देखायो भने जिम्मेवारी लिन पछि हट्दिन,” उनले भने, “तर, यो जुन तरिकाले व्यक्तिगत रूपमा चरित्र हत्या गर्न खोजिएको छ, त्यो न्यायोचित होइन।”
उनले बजेट रोकिनु नहुनेमा पनि जोड दिए। “म जनप्रतिनिधिको निर्णयमा बाधक बन्ने पक्षमा छैन,” गुरागाईंले भने, “तर टावरको विषयलाई बजेटसँग जोड्नु गलत हो।”
त्यस्तै उनले स्पष्ट पारे कि मेयर वा उपमेयरबारे आफुले केही टिप्पणी नगरेको भए पनि, मेयर सचिवालयको हवाला दिँदै आफूमाथि आरोप लगाइनु अनुचित भएको हो। “भ्रष्टाचारको ठहर आधिकारिक निकायले गर्छ, कसैको भनाइले होइन,” उनले भने।
गुरागाईंले निष्पक्ष छानबिनको स्वागत गर्ने बताउँदै नक्कली प्रचारप्रति गम्भीर आपत्ति जनाए।
प्रकाशित मिति: २२ असार २०८२, आइतबार













प्रतिक्रिया