सर्लाही । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश अध्यक्ष अशोक कुमार यादवले आफू फरार नभएको स्पष्ट पारेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई दिएको कथित धम्कीपछिको घटनाक्रममा आफूलाई फरार भनी सार्वजनिक गरिएका समाचारप्रति उनले असन्तोष जनाएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै अध्यक्ष यादवले आफू आफ्ना छोराको उपचारमा अस्पतालमा रहेको जानकारी दिएका छन्। उनले भने, “म फरार होइन। राज्यबाट डराउने मान्छे पनि होइन। मेरो छोरालाई प्रहरीले डाँका शैलीमा घरमै आएर कुटपिट गर्यो, उनको घाँटीको नसासमेत च्यातिएको छ। अहिले म उनको उपचारमा व्यस्त छु।”
उनले राति १२ बजे आफ्नै घरमा प्रहरी पुगेको र गैरकानुनी ढंगले छोरामाथि हातपात भएको आरोपसमेत लगाए।
अध्यक्ष यादवले आफू निरन्तर मधेसमा व्याप्त भ्रष्टाचार, लुटतन्त्र र बेथितिको विरोधमा बोल्दै आएको र त्यसकै कारण आफ्नो विरुद्ध षड्यन्त्रपूर्वक मुद्दा लगाइएको दाबी गरे। “यदि राज्यले मलाई जनताको पक्षमा बोलेको कारण अपराधी ठान्छ भने म सयवटा मुद्दा झेल्न पनि तयार छु। तर, म कहिल्यै पनि शोषित, पीडित र निमुखा मधेसी जनताको आवाज उठाउन छाड्दिन,” उनले प्रस्ट पारे।
उनले आफ्नो जीवनको अन्त्यसम्म पनि मधेसी समुदायका हक अधिकारका पक्षमा संघर्षरत रहने प्रतिबद्धता जनाए। “मृत्युदण्ड दिइए पनि स्वीकार्छु, तर आफ्नो जमिन, जात र जनताको पक्षमा बोल्न रोकिदिन सक्दिन,” अध्यक्ष यादवले भने।
यादवविरुद्ध सार्वजनिक सेवामा बाधा र राजनीतिक उपद्रव सम्बन्धी कसुरमा गत असार २० गते अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।
प्रकाशित मिति: २२ असार २०८२, आइतबार













प्रतिक्रिया