काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसंघअन्तर्गत ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता, उपलब्धि र योगदानबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन्।

सोमबार संसद बैठकमा समय लिएर सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सम्मेलनले नेपालको आर्थिक कूटनीतिलाई विश्वस्तरमा नयाँ साझेदारीमार्फत थप मजबुत बनाएको र दिगो विकास लक्ष्य (SDG) हासिल गर्न उत्प्रेरणा दिएको बताए।

advertisement

उनले सम्मेलनअघि प्रतिनिधिसभाको असार १४ गतेको बैठकमा भ्रमण कार्यक्रमबारे जानकारी गराइसकेको उल्लेख गर्दै, उक्त दिनै स्पेन प्रस्थान गरी असार २० गते फर्किएको जानकारी दिए।

सम्मेलनमा प्रधानमन्त्री ओलीले अति कम विकसित मुलुकहरूको तर्फबाट नेतृत्व गर्दै न्यायोचित आर्थिक–सामाजिक विकासका पक्षमा वकालत गरेको बताए। उनले सेभिया प्रतिबद्धताको कार्यान्वयनबाट यी मुलुकहरूलाई अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै नेपाल सन् २०२६ सम्म विकासशील राष्ट्रमा स्तरोन्नति हुने जानकारी गराए।

प्रधानमन्त्री ओलीले सम्मेलनले नेपालको वैदेशिक सम्बन्ध सुदृढ गर्नेदेखि अति कम विकसित राष्ट्रहरूको आवाज बुलन्द गर्न सहयोग गरेको धारणा राखे।

“विकास वित्त, औपचारिक-अनौपचारिक सहायता र जलवायु वित्तमा सहयोगका लागि आह्वान गरिएको छ,” प्रधानमन्त्री ओलीले भने, “नेपालले अन्तर्राष्ट्रिय समुदायमा जिम्मेवार र सक्षम राष्ट्रको पहिचान बनाएको छ। आर्थिक कूटनीति र वैदेशिक लगानीमा उत्साहजनक सम्भावना देखिएको छ।”

सम्मेलनका सन्दर्भमा उनले अति कम विकसित मुलुकहरूको बैठकको अध्यक्षता, विभिन्न साइड इभेन्ट तथा गोलमेच छलफलमा नेपालको नेतृत्व, प्रतिबद्धता र वकालतको भूमिका निर्वाह गरेको जानकारी पनि गराए।

प्रधानमन्त्री ओलीले नेपालले ४४ अति कम विकसित मुलुकहरूलाई सम्मेलनमा प्रभावकारी रूपमा प्रतिनिधित्व गरेको उल्लेख गर्दै, नेपालको भूमिका सशक्त रहेको बताए। सम्मेलनको पूर्वसन्ध्यामा उनले नागरिक समाजको भेलालाई सम्बोधन गर्दै लोकतान्त्रिक समाजमा खबरदारीपूर्ण नागरिक भूमिकाको आवश्यकता औंल्याएको पनि उल्लेख गरे।

त्यसैगरी, सम्मेलनकै क्रममा प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री पोद्रो साञ्चेजबीच दुईपक्षीय भेटवार्ता समेत भएको थियो।

प्रकाशित मिति: २३ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com