काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले भैरहवा कारागारमा रहेका एक व्यक्तिको नाममा गरिएको याचनापत्रका आधारमा ‘नाटकीय शैलीमा’ हस्ताक्षर संकलन अभियान चलाइएको भन्दै कडा आलोचना गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उक्त हस्ताक्षर अभियानलाई राजनीतिक प्रपञ्च र प्रचारको माध्यमको संज्ञा दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सभापति रवि लामिछानेप्रति लक्षित कटाक्ष गरे।
“७ असार २०८२ मा कारागारमा रहेका एक व्यक्तिको नाममा तयार गरिएको १५ पृष्ठ लामो अपिललाई म ‘याचनापत्र’ भन्छु। अहिले त्यसैको आधारमा हस्ताक्षर संकलन अभियान चलिरहेको छ,” थापाले स्पष्ट पार्दै भने, “सर्वोच्च, उच्च र जिल्ला अदालतमा आधा दर्जनभन्दा बढी मुद्दा विचाराधीन छन्। यस्तो अवस्थामा हस्ताक्षर अभियान प्रतिशोधको नाममा गरिएको राजनीतिक अभ्यास हो।”
उनले न्यायालयमा फैसला प्रमाण, तर्क र बहसका आधारमा हुने भन्दै जनमत र हस्ताक्षरले अदालतको निर्णय नबदलिने स्पष्ट पारे। “अदालतले हस्ताक्षरको संख्या होइन, तथ्य र प्रमाण हेरेर निर्णय गर्छ,” भन्दै उनले यस्तो अभियान जनभावना दुरुपयोग गर्ने र राजनीतिक स्वार्थपूर्तिको माध्यम भएको बताए।
सांसद थापाले निर्वाचनबाट चुनिएर आएका प्रतिनिधिहरू अदालतको आदेश विपरीत गतिविधिमा संलग्न भएकोप्रति चिन्ता व्यक्त गर्दै संविधान र कानूनी प्रक्रिया नछल्न सबैलाई सचेत गराए।
“छान्ने अधिकार जनतामा भए पनि कानुनी व्याख्या अदालतको हो,” थापाले भने, “अदालतको आदेशलाई लत्याएर रिटको नाममा रोटी सेक्ने काम लोकतन्त्रको मर्मसँग मेल खाँदैन।”
प्रकाशित मिति: २३ असार २०८२, सोमबार













प्रतिक्रिया