काठमाडौं । नक्कली भारतीय मुद्रा कारोबार र गैरकानुनी ढंगले अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा पक्राउ परेका व्यापारी तथा टेलिभिजन सञ्चालक युनुस अन्सारीलाई काठमाडौं जिल्ला अदालतले १५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अन्सारीविरुद्ध नौ करोड नौ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेपछि अदालतमा सुनुवाइ भएको थियो। शुक्रबार नेशनल टेलिभिजन प्रालिलाई समेत प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको थियो भने आइतबार र सोमबार थुनछेक बहस भएको थियो।
न्यायाधीश बलराम लम्सालको इजलासबाट १५ लाख धरौटी मागिएपनि अन्सारीले सो रकम बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको हो।
सीआईबीका अनुसार अन्सारीले विगतदेखि नै नक्कली भारतीय नोट कारोबार, अवैध कारोबार तथा जाली मुद्रा प्रयोग गरी सम्पत्ति आर्जन गर्दै आएका थिए। उनले सञ्चालक रहेको ‘नेशनल टेलिभिजन’ कम्पनीको आवरणमा रकम लुकाउने, विभिन्न व्यक्तिका नाममा जग्गा खरिद गर्ने र ती सम्पत्तिमा आफ्नै परिवारलाई राख्ने जस्ता क्रियाकलापमा संलग्न भएको पाइएको प्रहरी प्रतिवेदनमा उल्लेख छ।
उनको श्रीमती सालमा खातुन, प्रमिला अधिकारी र शुभेश्वरप्रसाद कुशवाह पनि प्रतिवादी बनाइएका छन्। सीआईबीले उनीहरूको बैंक खाताहरू, सम्पत्ति र आर्थिक कारोबारको विश्लेषण गरी गैरकानुनी स्रोतबाट आएको सम्पत्ति शुद्धीकरण गरिएको निष्कर्ष निकालेको छ।
अन्सारीमाथि २०६६ सालदेखि नै जाली नोट कारोबारका अभियोग लाग्दै आएका छन्। २०६७ सालमा जेलमै रहेका बेला उनलाई गोली प्रहारसमेत गरिएको थियो। उनको टेलिभिजन च्यानल नेशनल टेलिभिजन हाल बन्द भइसकेको छ।
प्रहरीको भनाइअनुसार, अन्सारीले भारतबाट नक्कली नोट ल्याउने, त्यसबाट कमाइ गरिएको पैसा विभिन्न माध्यमबाट लुकाउने र अधिकार तथा स्वामित्व अन्य व्यक्तिको नाममा सार्ने जस्ता गतिविधि गर्दै आएका थिए।
प्रहरीले अदालतमा पेश गरेको प्रतिवेदनमा भनिएको छ, “प्रतिवादी युनुस अन्सारीले गैरकानुनी तरिकाबाट आर्जन गरिएको रकमलाई शुद्धीकरण गर्न विभिन्न तरिका र विधिहरू प्रयोग गरी सम्पत्तिको स्रोत लुकाउने र बदल्ने काम गरेका छन्।”
अदालतको आदेशपछि धरौटी तिर्न नसकेर जेलमा रहेका अन्सारीमाथि अब थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढ्नेछ।
प्रकाशित मिति: २३ असार २०८२, सोमबार













प्रतिक्रिया