काठमाडौं । काठमाडौं महानगरपालिका (केएमसी) का पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई विशेष अदालतले २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
विशेष अदालतका न्यायाधीश तेज नारायण सिंह राई, रामबहादुर थापा र ऋतेन्द्र थापाको इजलासले बुधबार परियारलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतका उपसचिव कृष्ण शरण लामिछानेका अनुसार परियारले धरौटी बुझाएर सोही दिन रिहा भएका हुन्।
गत असार २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परियारसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनीहरूलाई सामाखुसी करिडोरअन्तर्गत बसुन्धरा–म्हेपी खण्डमा ढल निर्माणको ठेक्का उच्च रकममा दिई सार्वजनिक सम्पत्तिमा ४ करोड ३१ लाख रुपैयाँ बराबरको क्षति पुर्याएको आरोप लागेको छ।
मुद्दा दर्ता हुँदा परियार सूचना तथा प्रसारण विभागका महानिर्देशकको रूपमा कार्यरत थिए। मुद्दा दर्तापछि उनी निलम्बनमा परेका थिए।
प्रकाशित मिति: २५ असार २०८२, बुधबार











प्रतिक्रिया