झापा । झापाको बाह्रदशी गाउँपालिकामा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने आमा–छोरा गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार दिउँसो ३:४० बजे बाह्रदशी गाउँपालिका–१, खैरबारीस्थित भित्री सडकमा राजगढबाट कुटीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ३७ एजेट ६४४० मोटरसाइकल र विपरीत दिशाबाट आएको प्र.१–०१–०१६ प ९२७० नम्बरको स्कुटर आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

advertisement

दुर्घटनामा परेर स्कुटर चालक कचनकवल गाउँपालिका–३ निवासी अन्दाजी ६० वर्षीय श्रीप्रसाद राजवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै, मोटरसाइकल चालकको भने उपचारको क्रममा प्रादेशिक अस्पताल, भद्रपुरमा मृत्यु भएको हो। मृत मोटरसाइकल चालकको नाम र ठेगाना खुल्न बाँकी रहेको छ।

दुर्घटनामा स्कुटरमा सवार श्रीप्रसादकी बुहारी २७ वर्षीया उर्मिला राजवंशी र उनका ३ वर्षीय छोरा आयुष राजवंशी गम्भीर घाइते भएका छन्। दुवै जनालाई थप उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय राजगढले दुर्घटनामा संलग्न दुवै सवारी साधन नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २५ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com