काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि करिब २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा तय गरेको छ।
महानगरको राजस्व परामर्श समितिको आज बसेको बैठकले यो बजेट सीमा निर्धारण गरेको हो। बैठक महानगर प्रमुख बालेन्द्र (बालेन) साहको अध्यक्षतामा काठमाडौं प्लाजामा सम्पन्न भएको थियो।
महानगरका अनुसार अब निर्धारित बजेट सीमाभित्र रही छिट्टै बजेट सार्वजनिक गर्ने तयारी थालिएको छ।
बैठकमा प्रमुख साहले जनताका आवश्यकता र अपेक्षा अनुसार योजनाहरू अघि बढाउन निर्देशन दिएका छन्। उनले पूर्वाधार विकासमा अझ बढी लगानी गर्नुपर्नेमा जोड दिंदै चालु आर्थिक वर्षको तुलनामा आगामी वर्ष पूर्वाधार क्षेत्रमा थप बजेट विनियोजन गर्नुपर्ने बताएका छन्।
राजस्व परामर्श समितिले पनि पूर्वाधार र सेवामूलक क्षेत्रमा बजेटको प्राथमिकता तय गर्ने निर्णय गरेको छ।
काठमाडौं महानगरले हालसमेत सडक, ढल, खानेपानी, डिजिटल सेवा, शैक्षिक सुधार लगायतका क्षेत्रमा काम गरिरहेको छ। नयाँ बजेटमार्फत ती कार्यहरूलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार












प्रतिक्रिया