काठमाडौं । गल्छी–सितापाइला सडक हुँदै राजधानी प्रवेश गरिरहेको एक कारमा शनिबार बिहान अचानक आगलागी भएको छ।
नागार्जुन नगरपालिका–८ स्थित भीमढुंगाको खड्का मोडमा बा.प्र. ०१–०३१ च ०९६६ नम्बरको उक्त कारमा बिहान १० बजेतिर आगो लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिएका छन्।
उनका अनुसार अकस्मात लागेको आगोका कारण कार पूर्ण रूपमा जलेर नष्ट भएको हो। दमकलको सहयोगमा करिब ११:५० बजे आगो नियन्त्रणमा ल्याइएको थियो।
कार काठमाडौं महानगरपालिका–२ लाजिम्पाटका ५७ वर्षीय सुरेश श्रेष्ठको रहेको प्रहरीले जनाएको छ। श्रेष्ठसहित कारमा रहेका थप एक जना पनि सकुशल रहेको पुष्टि गरिएको छ।
प्रहरीले क्रेनको सहायताले जलेको कार सडकबाट हटाइसकेको छ। आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: २८ असार २०८२, शनिबार












प्रतिक्रिया