काठमाडौं । गाजाको मध्य क्षेत्रमा आइतबार पानी संकलन गरिरहेका बेला इजरायली हवाई आक्रमणमा परेर ६ बालबालिकासहित १० जनाको ज्यान गएको छ।
नुसेरातको अल-अवदा अस्पतालमा शवहरू ल्याइएको अस्पतालका एक चिकित्सकले बताएका छन्। उनका अनुसार घटनामा घाइते भएका १६ जनाको उपचार भइरहेको छ, जसमा सात बालबालिका पनि छन्।
प्रत्यक्षदर्शीका अनुसार हमला अल-नुसेरात शरणार्थी शिविरमा पानी ट्याङ्कर नजिकै खाली कन्टेनर बोकेर लाइनमा बसेका सर्वसाधारणमाथि गरिएको थियो।
यता, गाजा नागरिक सुरक्षा निकायले आइतबार गाजा शहर र मध्य गाजास्थित तीनवटा आवासीय भवनमा इजरायली आक्रमण हुँदा थप १९ जना प्यालेस्टिनी नागरिकले ज्यान गुमाएको जानकारी दिएको छ।
यसैबीच, अन्तर्राष्ट्रिय रेडक्रस समितिले दक्षिणी गाजास्थित रफाह फिल्ड अस्पतालमा पछिल्ला ६ सातामै अघिल्लो १२ महिनाभन्दा धेरै घाइतेको उपचार गरिएको उल्लेख गरेको छ।
गाजामा जारी आक्रमणसँगै मानवीय संकट झन् गहिरिँदै गएको भन्दै अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूले गम्भीर चासो व्यक्त गरेका छन्।
प्रकाशित मिति: २९ असार २०८२, आइतबार













प्रतिक्रिया