काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको ऐतिहासिक भूमिका र आगामी राजनीतिक दिशा निर्धारण गर्ने क्षमताबारे दाबी गरेका छन्। संघीय संसदको बैठकमा आइतबार सम्बोधन गर्दै उनले माओवादी नेतृत्वमा देशमा गणतन्त्र, संविधान, सामाजिक न्याय र ऊर्जा क्षेत्रमा उल्लेखनीय परिवर्तन भएको दाबी गरे।
“हामी इतिहास बनाएर आएका हौं र भविष्यको खाका कोर्ने हिम्मत र साहस पनि हामीसँग मात्रै छ,” उनले भने, “जनताको सपना पूरा गर्ने जिम्मेवारी पनि हामीले लिएका छौं।”
प्रचण्डले संविधान कार्यान्वयन अझै अधुरो रहेको उल्लेख गर्दै संशोधन आवश्यक रहेको बताए। संविधान संशोधनबारे बहस अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले भने, “संविधानले नेपाली जनताको अधिकार अझै संस्थागत गर्नुपर्छ। उपेक्षित जाति, वर्ग, भूगोल र समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न संशोधन जरुरी छ।”
संविधान संशोधनका लागि आवश्यक दुईतिहाई बहुमत जुटाउने जिम्मेवारी लिने दाबी गर्दै उनले भने, “यदि सरकारसँग हिम्मत छ भने, प्रमुख प्रतिपक्षका नाताले त्यो बहुमत म जुटाइदिन्छु।”
उनले गणतन्त्रमाथि खतरा बाह्य शक्तिबाट होइन, सरकारको कार्यशैलीबाट आएको आरोपसमेत लगाए। “यदि गणतन्त्रमाथि खतरा छ भने त्यो राजावादी या अन्यबाट होइन, सरकारकै कार्यशैलीबाट हो,” उनले चेतावनी दिए।
सरकारको ‘संख्याको दम्भ’ र कुशासनप्रति चेतावनी दिँदै उनले भने, “यो बन्द हुनु पर्छ, अन्यथा जनताको धैर्यको सीमा टुट्नेछ।”
प्रचण्डले माओवादी नेतृत्वमा भएका ऐतिहासिक निर्णय—जस्तै मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, उत्तर-दक्षिण करिडोर, लोडसेडिङको अन्त्य, र विशेष आर्थिक क्षेत्रको घोषणा—को उदाहरण दिँदै पाँच वर्ष स्थिर सरकार पाए मुलुकलाई रूपान्तरण गर्न सकिने विश्वास व्यक्त गरे।
उनले वर्तमान निर्वाचन प्रणाली, शासन संरचना र कार्यशैलीप्रति जनतामा बढ्दो असन्तुष्टि देखिएको भन्दै गम्भीर समीक्षा आवश्यक रहेको बताए। “व्यवस्थाप्रति जनविश्वास घटिरहेको छ। अब गम्भीर समीक्षा अनिवार्य छ,” उनले स्पष्ट पारे।
प्रकाशित मिति: ३० असार २०८२, सोमबार













प्रतिक्रिया