रसुवा । हालैको बाढीका कारण रसुवा भन्सार क्षेत्र गम्भीर प्रभावित बनेको छ। टिमुरे यार्डमा बाढीका कारण फसेका गाडीहरूलाई सुरक्षीत स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।
प्रशासनका अनुसार टिमुरे यार्डमा थुनिएका ११ युनिट विद्युतीय सवारी (ईभी) र २२ वटा मालवाहक ट्रक तथा एक खाली गाडीलाई सुरक्षित स्थानमा सारिएको हो। यस्तै, दुईवटा हेभी इक्विपमेन्टसमेत स्थानान्तरण गरिएको छ।
बाढीले भौतिक संरचना मात्र नभई मानवीय क्षति पनि पुर्याएको छ। प्रशासनले दिएको जानकारीअनुसार हालसम्म ९३० जनाको पैदलमार्गबाट उद्धार गरिएको छ। त्यसबाहेक, आपतकालीन अवस्थामा फसेका ५५ जनालाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहकार्यमा तत्काल उद्धार गरिएको हो।
यस अवधिमा विभिन्न निजी कम्पनीका हेलिकप्टरमार्फत ४४ ओटा उडान गरी १७७ जनाको उद्धार गरिएको छ, जसमा ४६ जना नेपाली र १३१ जना विदेशी रहेका छन्।
जम्मा १ हजार १ सय ६२ जनाको सफल उद्धार भइसकेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। उद्धार तथा राहतकार्य अझै जारी रहेको जनाइएको छ।
प्रकाशित मिति: ३० असार २०८२, सोमबार












प्रतिक्रिया