काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमार्फत भइरहेका मानव तस्करीका घटनालाई लिएर सरकारलाई कडा आलोचना गरेको छ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद शिव नेपालीले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीबारे आफूहरू लगातार आवाज उठाउँदै आएको भए पनि सरकारले बेवास्ता गर्दै जाने प्रवृत्ति देखिएको गुनासो गरे।

advertisement

“सरकारले हाम्रो आवाजलाई बारम्बार पेलेको छ,” उनले भने, “त्रिभुवन विमानस्थलको अध्यागमन विभाग नै मानव तस्करीको केन्द्रजस्तो बन्दै गएको छ।”

सांसद नेपालीले अडियो प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको राजीनामाले मात्र पर्याप्त नभएको धारणा राखे। “राजीनामा खबरमा आएको छ, तर यतिले मात्र हुँदैन। अरू मन्त्रीहरू पनि यसमा संलग्न छन्। निष्पक्ष छानबिन होस्, दोषीमाथि तत्काल कडा कारबाही गरियोस्,” उनले माग गरे।

उनले गृहमन्त्री रमेश लेखकमाथि पनि गम्भीर प्रश्न उठाउँदै भने, “सभामुखज्यू, अझै पनि एउटा मूल प्रश्न अनुत्तरित छ — अध्यागमन विभागमार्फत भइरहेको मानव तस्करीमा प्रत्यक्ष संरक्षण र अप्रत्यक्ष संलग्नता देखिएको गृहमन्त्रीको नैतिकता कहिले जाग्ने हो? पदप्रतिको यत्रो मोह किन?”

सांसद नेपालीले मानव तस्करी जस्तो गम्भीर विषयमा छानबिन समिति गठनको आवश्यकता पनि औँल्याउँदै सोधे, “छानबिन समिति कहिले बन्ने हो?”

रास्वपाले अध्यागमनको नाममा हुँदै आएको अवैध धन्दामाथि सरकारको उदासीनता र संलग्नता दुबैप्रति कडा असन्तुष्टि जनाउँदै आएको छ।

प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com