कालीकोट । खाँडाचक्र नगरपालिका–७ स्थित कालिका मावि, पिलिमा ‘एक विद्यार्थी, एक वृक्ष’ अभियानअन्तर्गत ३ हजार ७ सय ५० बिरुवा वृक्षारोपण गरिएको छ।
‘हरित विद्यालय कार्यक्रम’ अन्तर्गत विद्यालयको आर्थिक सशक्तिकरण र वातावरणीय संरक्षणलाई लक्ष्य गरी थालिएको अभियानमार्फत विभिन्न प्रजातिका बिरुवा विद्यालयको क्षेत्रभित्र रोपिएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमित मल्लका अनुसार बुद्धचित्तका २ सय ३१, कफीका १८ सय, मेकेडेमिया ५ सय, सितल चिनी ५ सय र एभोकाडोका ७ सय बिरुवा रोपिएको छ।
उनका अनुसार, विद्यार्थीलाई वातावरणीय सचेतना अभिवृद्धि गर्न विद्यालयले हरेक हप्ता ‘नो बुक डे’ कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।
ईको हिमाल नेपालको आर्थिक सहयोगमा सञ्चालन गरिएको अभियानले विद्यार्थीको सरसफाइ, वृक्ष संरक्षण र व्यावहारिक ज्ञानमा समेत टेवा पुर्याउने विद्यालयले जनाएको छ।
ईको हिमाल नेपालले विद्यालयलाई ४ सय थान नुहाउने साबुन र ४ सय थान लुगा धुने साबुन समेत प्रदान गरेको छ।
प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार













प्रतिक्रिया