काठमाडौँ । राष्ट्रियसभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएकी छन्। नेकपा (एमाले) को कोटाबाट राष्ट्रियसभामा रहेकी न्यौपानेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन्।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा भगवती न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी राष्ट्रपतिले तोक्नु भएको छ।”
यसअघि उक्त मन्त्रालयका जिम्मेवार मन्त्री राजकुमार गुप्ता घुस प्रकरण सम्बन्धी ‘अडिओ’ सार्वजनिक भएपछि पदमुक्त भएका थिए।
न्यौपानेलाई मन्त्री बनेसँगै शुभकामना र बधाई दिइएको छ, तर सँगै आलोचना पनि सुरु भएको छ। विशेषगरी उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा पराजित भएकी उम्मेदवार भएकाले आलोचना भइरहेको हो। तनहुँको भानु नगरपालिकाको मेयरका लागि चुनाव लडेकी उनी नेपाली कांग्रेसका उम्मेदवार उदयराज गौलीसँग पराजित भएकी थिइन्। गौलीले ९,६३८ मत ल्याउँदा न्यौपाने ९,०६६ मतमा सीमित भएकी थिइन्।
स्थानीय चुनावमा हारपछि उनी २०७६ माघ ९ गते राष्ट्रियसभा सदस्यमा निर्वाचित भइन्। गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै उनी राष्ट्रिय सभामा पुगेकी थिइन्। उनले २०८० फागुन २० गतेदेखि एमालेको मुख्य सचेतकको जिम्मेवारी समेत सम्हाल्दै आएकी थिइन्।
राजनीतिक यात्रा अनेरास्ववियुबाट सुरु गरेकी न्यौपानेले अनेमसङ्घ तनहुँको सचिव हुँदै दुई कार्यकाल अध्यक्ष, एमाले तनहुँ जिल्ला सचिव लगायतका जिम्मेवारी सम्हालिसकेकी छन्। उनी राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिकी सदस्यसमेत हुन्।
तर, राष्ट्रियसभा ‘चुनाव हारेकाको व्यवस्थापन थलो’ बनेको भन्दै आलोचना हुने गरेको छ। स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुने भएकाले राष्ट्रियसभा सदस्यहरू ‘प्रत्यक्ष जननिर्वाचित नभएको’ भन्ने तर्कसहित आलोचना भइरहन्छ। यस्तै पृष्ठभूमिमा मन्त्री बनेकी न्यौपानेमाथि पनि सोही कोणबाट टिप्पणी हुन थालेको छ।
प्रकाशित मिति: ३२ असार २०८२, बुधबार












प्रतिक्रिया