काठमाडौँ । भूमि समस्या समाधान आयोग जिल्ला समिति सुर्खेतद्वारा शुक्रबार आयोजित कार्यक्रममा सुर्खेतका भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बासिन्दालाई जग्गाधनी पूर्जा वितरण गरिएको छ।

नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले कार्यक्रमको उद्घाटन गर्दै लेकवेशी र भेरीगंगा नगरपालिकाका २४७ जनालाई औपचारिक रूपमा जग्गाधनी पूर्जा प्रदान गरे।

advertisement

कार्यक्रममा बोल्दै उपसभापति खड्काले वर्तमान सरकारले राजनीतिक स्थायित्व कायम गर्दै जनताका समस्या समाधानमा केन्द्रित रहेको बताए। उनले भूमिसम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि संसद्मा भूमि विधेयक छिट्टै पारित हुने विश्वास व्यक्त गरे।

खड्काले व्यावसायिक कृषि र भूमिको अधिकतम उपयोगमार्फत आर्थिक समृद्धिको बाटो पहिल्याउन आवश्यक रहेको धारणा राखे। “भूमिको सदुपयोग गरेर आत्मनिर्भर बन्ने दिशामा हामी लाग्नुपर्छ,” उनले भने।

नेताहरूको व्यवहारप्रति जनतामा बढ्दो असन्तुष्टि रहेको उल्लेख गर्दै उनले घोषणापत्रमा उल्लेखित प्रतिबद्धता पूरा नगर्ने प्रवृत्तिले मतदाता निराश भएको टिप्पणी गरे। “बोलिका कुरा व्यवहारमा नदेखिँदा मतदातामा असन्तोष चुलिएको छ,” उनले भने।

राजनीतिक प्रतिस्पर्धाको नाममा एकले अर्कालाई बदनाम गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिँदै उपसभापति खड्काले नेताहरूले आफूभित्रको कमजोरी हेर्नुपर्ने समय आएको बताए।

उनले अहिलेको सत्ता गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने स्पष्ट संकेतसमेत दिए। “गठबन्धन राजनीतिक स्थायित्वका लागि बनाइएको हो, यो आगामी निर्वाचनसम्म निरन्तर रहन्छ,” उनले दाबी गरे।

कार्यक्रममा स्थानीय बासिन्दाहरूले लामो समयपछि जग्गा प्रमाण प्राप्त गर्न पाउँदा खुसी व्यक्त गरेका थिए।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com