दाङ । दाङ जिल्लाको बंगलाचुली गाउँपालिका–४ जुम्लेपानीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। ५० वर्षीया गोमा पुनको आफ्नै श्रीमान ३८ वर्षीय जागेश्वर पुनको कुटाइबाट ज्यान गएको हो।
शुक्रबार साँझ दुवै जनाले मदिरा सेवन गरेपछि घरमै बसेर विवाद सुरु भएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार, विवाद क्रमशः चर्किँदै जाँदा राति करिब १० बजे श्रीमानले लठ्ठीले प्रहार गर्दा घटनास्थलमै गोमाको मृत्यु भएको हो।
डीएसपी शाहका अनुसार उनीहरूबीच बेलुकादेखि नै घरायसी विवाद चलिरहेको थियो। दुवैले मदिरा सेवन गरेका थिए। राति लठ्ठी प्रहार भएपछि घटनास्थलमै श्रीमतीको ज्यान गएको पुष्टि भएको छ।”
प्रहरी अनुसन्धान अनुसार, उनीहरूबीच लामो समयदेखि घरायसी झगडा हुँदै आएको थियो। पछिल्लो समय मादक पदार्थ सेवनपछि झगडाहरू झनै उग्र बन्दै गएका थिए, जसले अन्ततः हिंसात्मक रूप लिँदै ज्यान जाने स्थितिमा पुर्याएको देखिएको छ।
घटनापछि प्रहरीले हत्या आरोपमा जागेश्वर पुनलाई घटनास्थलबाटै पक्राउ गरेको छ। प्रहरीका अनुसार गोमाको यो तेस्रो विवाह थियो भने जागेश्वरको दोस्रो। उनीहरूको वैवाहिक सम्बन्धलाई एक वर्ष पनि पुगेको थिएन। उनलाई जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता शाहले जानकारी दिए।
मृतक गोमाको शव पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा राखिएको छ।
प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार













प्रतिक्रिया