काठमाडाैं । पूर्वी लस एन्जलसस्थित एक प्रहरी तालिम केन्द्रमा भएको विस्फोटमा तीन जना अधिकारीको ज्यान गएको छ।
स्थानीय समयअनुसार शुक्रबार बिहान ७:३० बजे बिस्काइलुज सेन्टरमा रहेको एकेडेमी ट्रेनिङ सेन्टरमा विस्फोट भएको हो। घटनाबारे बिबिसीले जानकारी दिएको छ।
प्रहरीका अनुसार मृतकहरू सबै लस एन्जलस काउन्टी शेरिफ विभाग (एलएएसडी) अन्तर्गत स्पेशल इनफोर्समेन्ट ब्युरो र अर्सन एक्स्प्लोसिभ्स डिटेल (बम स्क्वाड) का अनुभवी सदस्य थिए। तीमध्ये एक अधिकारीले ३३ वर्ष, अर्काले २५ वर्ष, र तेस्रोले १९ वर्ष सेवा गरेका थिए।
शेरिफ रोबर्ट लुनाका अनुसार घटनाको एक दिनअघि, बिहीबार, सान्ता मोनिकाको एक ग्यारेजमा कम्तिमा एक थान ग्रिनेड फेला परेको थियो। सो ग्रिनेडलाई सुरक्षित रूपमा निष्क्रिय गर्नका लागि शुक्रबार तालिम केन्द्र ल्याइएको थियो।
तर ग्रिनेड निष्क्रिय पार्ने क्रममा पार्किङ क्षेत्रमा विस्फोट भएको हो। विस्फोटका कारण तीन अधिकारीको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
घटनामा अन्य कोही घाइते भएका छैनन्। मृतकहरूको नाम हालसम्म सार्वजनिक गरिएको छैन।
विस्फोटपछि तालिम केन्द्र वरपरको क्षेत्र खाली गराइएको छ र घटनास्थललाई सिल गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार













प्रतिक्रिया