विराटनगर । उदयपुरका १५ वर्षीय बालकको पेटबाट नोबेल मेडिकल कलेजका चिकित्सकहरूले शल्यक्रिया गरेर कैंची सफलतापूर्वक निकाल्न सफल भएका छन्। खेल्ने क्रममा गल्तीवश निलेको कैंची उनको पेटभित्र अड्किएको थियो।
नोबेल मेडिकल कलेजका प्रबन्धक दिपेश राईका अनुसार बालक १७ असारमा गम्भीर अवस्थामा अस्पताल भर्ना भएका थिए। ल्याप्रोस्कोपिक प्रविधिमार्फत गरिएको शल्यक्रियाबाट पेटभित्र अड्किएको कैंची निकालिएको र अहिले बालक पूर्ण रूपमा स्वस्थ भई घर फर्किएको उनले जानकारी दिए।
घटनाको विवरणअनुसार, बालक घरमा टेलिभिजन हेर्दै गर्दा मुखमा कैंची खेलाइरहेका थिए। खेल्ने क्रममा अचानक कैंची घाँटीभित्र छिरेको थियो। बालकले चिच्याएपछि हजुरबुबाले कैंची निकाल्ने प्रयास गर्दा झनै भित्र सरेर सानो आन्द्रासम्म पुगेको थियो।
स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई विराटनगरस्थित नोबेल मेडिकल कलेजमा लगिएको थियो। त्यहाँ पुगेको अवस्थामा कैंची बालकको पेटमा पुगिसकेको थियो।
नोबेल मेडिकल कलेजका ल्याप्रोस्कोपिक सर्जन डा. अमित भट्टराई र डा. दिनेश अधिकारीको नेतृत्वमा गरिएको शल्यक्रियाबाट बालकको पेटबाट सुरक्षित रूपमा कैंची निकालिएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार समयमै उपचार नभएको भए ज्यानमाथि खतरा हुन सक्ने सम्भावना उच्च थियो। बालकको सफल उपचारपछि परिवारजनले चिकित्सक र अस्पतालप्रति आभार व्यक्त गरेका छन्।
प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार













प्रतिक्रिया