दक्षिण कोरिया । दक्षिण कोरियामा निरन्तरको मुसलधारे वर्षाले भीषण बाढी र पहिरो निम्त्याउँदा अहिलेसम्म १४ जनाको ज्यान गएको छ , भने हजारौं मानिस प्रभावित भएका छन्। देशको विपद् व्यवस्थापन कार्यालयका अनुसार अझै १२ जना बेपत्ता छन्, जसका कारण मृतक संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

बुधबारदेखि सुरु भएको अविरल वर्षापछि पहिरो, बाढी र जलमग्न क्षेत्रहरूमा उद्धार कार्य जारी रहेको छ। हालसम्म झण्डै १०,००० मानिस घर छोडेर सुरक्षित स्थानमा सर्न बाध्य भएका छन्। बाढीले ४१,००० भन्दा बढी घरधुरीको विद्युत् आपूर्ति पनि अवरुद्ध भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

advertisement

आइतबार गाप्योङ नामक पर्यटकीय सहरमा पहिरो जाँदा घरहरू बगाउँदा कम्तीमा दुई जनाको मृत्यु भएको र चार जना अझै बेपत्ता रहेको दमकल विभागले जनाएको छ। घटनास्थलमा उद्धारकर्मीहरू खटिएका छन् भने ६३ जनाको सकुशल उद्धार गरिएको र २८५ जनालाई सुरक्षित स्थानमा सारिएको जानकारी दिइएको छ।

त्यसैगरी, देशको केन्द्रीय क्षेत्र चुंगचियोङमा एक गाउँ पहिरोले पूर्ण रूपमा पुरिएको दृश्य सार्वजनिक भएको छ। उक्त क्षेत्रमा व्यापक रुपमा माटो र मलवाले जनजीवन प्रभावित पारेको छ।

दक्षिणी सान्चेओङ काउन्टीमा सबैभन्दा बढी क्षति भएको जनाइएको छ, जहाँ ६ जनाको मृत्यु र ७ जना बेपत्ता छन्। राजधानी सउल नजिकका उत्तरी पहाडी क्षेत्रहरू र देशका पश्चिमी तथा उत्तरी भागहरूमा पनि मानवीय क्षति भएको छ।

कृषि क्षेत्रमा समेत ठुलो क्षति भएको छ। खेतबारी डुबानमा परेका छन् भने सयौं पशु चौपाया मरेका छन्। हजारौं सडक तथा भवनहरू बाढीमा ध्वस्त भएका वा जलमग्न बनेका छन्।

हाल केही दक्षिण र केन्द्रीय भागमा वर्षा घटेपनि राजधानी सउल र उत्तरका क्षेत्रहरूमा आइतबार फेरि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। सरकारले पहिरोको उच्च जोखिम रहेका क्षेत्रहरूमा सतर्कता जारी गर्दै पुनःस्थापनाका लागि विभिन्न निकायहरू संयुक्तरूपमा परिचालन गरिएको जनाएको छ।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com