काठमाडौं । संगीत तथा गीत–सङ्गीतको व्यावसायिक प्रयोगबाट स्रष्टालाई रोयल्टी उपलब्ध गराउने कानुनी व्यवस्था कार्यान्वयन गर्ने जिम्मेवारी पाएको संगीत रोयल्टी संकलन समाज (MRCS) पछिल्लो समय विवादमा तानिएको छ।
नियमानुसार दर्ता गरिएका कैयौं गीतहरू प्रविष्टिबाट गायब हुनु, धेरै गीतहरू भौतिक मिसिलमै सीमित रहनु, र केवल केही निश्चित स्रष्टाका सिर्जनाहरूलाई मात्र प्राथमिकताका साथ रोयल्टी वितरणमा समावेश गरिनुले आम स्रष्टाहरूमा गम्भीर असन्तोष चुलिएको छ। वितरणको नाममा कृत्रिम मञ्चन गरी कतिपय सिर्जनशील व्यक्तिलाई अन्यायमा पारिएको आरोपसमेत रोयल्टी समाजमाथि लाग्दै आएको छ।
यस्तै, एक पछिल्लो घटनाले रोयल्टी समाजको आन्तरिक कार्यशैलीमै गम्भीर प्रश्न उठाएको छ। आफ्ना नयाँ गीतहरू दर्ता गर्न समाजमा पुगेका गीतकार प्रमोद भण्डारीले अघिल्लो पटक दर्ता गरिसकेका आफ्ना गीत नै डिजिटल प्रविष्टिमा नरहेको देखेपछि विषयले विवादको रूप लिएको हो। उनले आफ्नो अधिकारको खोजी गर्न खोज्दा उल्टै गल्ती देखाउने र होच्याउने प्रयास गरिएको बताइएको छ।
भण्डारीले आफ्नो दर्ता प्रमाणपत्र र रोयल्टी करारसम्बन्धी कागजातहरू देखाएपछि मात्रै केही मिसिलहरू खोलिएका थिए। त्यसपछि प्रविष्टि मिलाउने आश्वासन दिइए पनि कानुनी प्रक्रियाअनुसार गीत दर्ता गरिसकेका स्रष्टा आफू पीडित हुनुपर्ने अवस्थाले नै संगीत रोयल्टी व्यवस्थापन प्रणालीमा गम्भीर पारदर्शिता अभाव रहेको तथ्य उजागर भएको छ।
यस विषयमा प्रतिक्रिया दिँदै लेखक नारायण नेपालले रोष प्रकट गर्दै भने, “बौद्धिक सम्पत्तिको अधिकार कुण्ठित गर्नु र व्यावसायिक लाभका लागि अरूको श्रममाथि टेक्नु केवल अनैतिक होइन, कानुनी दृष्टिले पनि आपराधिक हो।” उनले बदनियतपूर्ण रूपमा यस्ता अभ्यास गर्दै आएका व्यक्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेका छन्।
स्रष्टाहरूले रोयल्टी संकलन भएपछिको वितरण र खर्चबारे स्पष्ट विवरण प्राप्त नगर्नु, निश्चित स्रष्टाहरूलाई मात्र लाभ पुग्ने गरी नियोजित ढंगले समाजको स्रोत बाँडफाँट हुनु र अन्तर्राष्ट्रिय तहमा समेत जथाभावी रोयल्टी संकलन बबण्डर भइरहनुले व्यवस्थाको नैतिकता र वैधानिकता दुबैमा गहिरो प्रश्न उठाएको छ।
जनाधिकार अभियन्ता सन्तोष पौडेलका अनुसार, “यदि यस्ता गम्भीर प्रकृतिका घटना दोहोरिइरहेछन् र अझैसम्म छानबिन अघि बढाइएको छैन भने, यो व्यापक मिलेमतोको संकेत हो।” उनले दोषीहरूलाई कानुनी रूपमा उन्मुक्ति दिनु हुँदैन भन्ने स्पष्ट सन्देश दिँदै निष्पक्ष छानबिनको माग गरेका छन्।
बौद्धिक सम्पत्तिको संरक्षण, स्रष्टाहरूको गरिमा कायम राख्न तथा संगीतजस्तो संवेदनशील क्षेत्रमा पारदर्शिता सुनिश्चित गर्न अब ढिलाइ गर्नु हुँदैन भन्ने आवाज सर्वत्र उठिरहेको छ।
यस सन्दर्भमा ग्लोबल नागरिकले रोयल्टी समाजसँग बुझ्दा ‘सिस्टम’ परिवर्तन हुँदा गितहरु नदेखिएको हुनसक्ने स्विकारोक्ती गरेको छ। तर, दुर्व्यवहार भने नगरेको दाबी गरेको छ।
प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार












प्रतिक्रिया