काभ्रे । आफ्नै प्रेमिकाको निर्मम हत्या गरी शव जंगलमा फालेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले घटनामा संलग्न ३७ वर्षीय सन्तोष सुनारलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।
आइतबार दिउँसो करिब २ बजेतिर बनेपा नगरपालिका–१३ भगवानथुम्कीस्थित सामुदायिक वन क्षेत्रको चिलाउने रुखको फेदमा एक महिलाको शव फेला परेको थियो। शव कोल्टो अवस्थामा भेटिएको थियो, जसको प्रकृति शंकास्पद देखिएपछि प्रहरीले तत्काल अनुसन्धान सुरु गरेको थियो।
प्रारम्भिक अनुसन्धानमा शव चौरीदेउराली गाउँपालिका–१ डाँडाखर्ककी ३३ वर्षीया शर्मिला उप्रेतीको रहेको खुलेको छ। उनी हाल बनेपा–९ नयाँबस्तीमा बसोबास गर्दै आएकी थिइन्। मृतकका बुबा कमलबहादुर उप्रेतीले शवको पहिचान गरेका थिए। उनका अनुसार साउन २ गतेदेखि शर्मिला सम्पर्कविहीन थिइन्।
घटनाको संवेदनशीलता हेरेर इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोली र धुलिखेल अस्पतालका फरेन्सिक विशेषज्ञसहितको टोलीले प्रारम्भिक परीक्षण र अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानको क्रममा काभ्रे प्रहरीले रामेछापको मन्थली नगरपालिका–१३ निवासी सन्तोष सुनारलाई बनेपा–१० स्थित एक इँट्टाभट्टामा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो। जिल्ला अदालत काभ्रेबाट चार दिनको म्याद थप गरी प्रहरी अनुसन्धान अघि बढाइरहेको छ।
प्रहरीका अनुसार मृतक शर्मिला र अभियुक्त सन्तोषबीच प्रेम सम्बन्ध थियो। सोही सम्बन्धकै कारण आपसी विवाद उत्पन्न भई हत्या भएको प्रारम्भिक अनुमान गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र दोषीलाई कानुनी दायरामा ल्याउन आवश्यक प्रमाण संकलनको प्रक्रिया जारी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता, प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन्।
यो घटनाले प्रेम सम्बन्धको नाममा भइरहेका गम्भीर अपराधप्रति समाजमा थप सतर्कता र जिम्मेवारी आवश्यक रहेको सन्देश दिएको छ।
प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार












प्रतिक्रिया