काठमाडाैं । जिल्ला अस्पताल खोटाङमा शल्यक्रियाबाट जन्मिएको एक शिशुको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको छ।
श्वासप्रश्वासमा समस्या देखिएपछि शिशुलाई आमासहित राष्ट्रपति हवाई उद्धार कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो। तर कान्ति बाल अस्पताल, महाराजगञ्जमा उपचारको क्रममा शिशुको ज्यान गयो।
दिक्तेल रुपाकोट मझुवागढी–१५ का जानुका खत्री र सर्वकुमार खत्रीको दोस्रो सन्तानका रूपमा जन्मिएको शिशु जन्मिएलगत्तै गम्भीर अवस्थामा पुगेको अस्पताल प्रमुख डा. रुपेश सङ्ग्रौलाले बताए। गर्भ अवधि नाघेपनि व्यथा नलागेपछि औषधिबाट प्रसव गराउने प्रयास असफल भएपछि शल्यक्रिया गरिएको थियो।
शिशुको मृत्युपछि आफन्तले स्वास्थ्यकर्मीको लापरवाही भएको आरोप लगाएका छन्।
१५ शय्याबाट ५० शय्यामा स्तरोन्नत गरिएको जिल्ला अस्पतालमा पूर्वाधार र दक्ष जनशक्ति अभावले बिरामीलाई दैनिकजसो हेलिकप्टरमार्फत अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको छ। अस्पताल भवन अझै अपूर्ण अवस्थामा छ भने कोशी प्रदेश सरकारको घोषणापछि अस्पताल स्तरोन्नतिको विषयमा आलोचना बढ्दो छ।
प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया