काठमाडौं । नेपालमा उत्पादन नै नहुने ‘हेभी इक्विपमेन्ट’ उपकरणमध्ये बुल्डोजर जस्ता सामग्री विदेशी भूमिमा निर्यात भएका छन्। भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को तथ्यांक अनुसार नेपालबाट अफगानिस्तानमा ६९ थान बुल्डोजर निर्यात गरिएको छ।
भन्सार विभागका अनुसार ती बुल्डोजरको कुल निर्यात मूल्य २९ करोड ६४ लाख ४७ हजार रुपैयाँ बराबर रहेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा अफगानिस्तानमा ५५ थान बुल्डोजर निर्यात गरिएको थियो, जसको मूल्य २६ करोड ६७ लाख ९९ हजार रुपैयाँ थियो। तदनुसार, यो वर्ष निर्यातमा उल्लेखनीय वृद्धि देखिएको छ।
विशेषगरी भारत, चीन, जापान, दक्षिण कोरिया लगायतका देशबाट नेपालमा डोजर, एस्काभेटर र अन्य हेभी इक्विपमेन्ट आयात हुने गरेको भए पनि तीमध्ये केही उपकरण पुनः निर्यात हुने गरेको यो तथ्यले देखाउँछ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गर्न सफल भएको छ। अघिल्लो वर्ष उक्त रकम १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख मात्र थियो। निर्यात वृद्धिसँगै नेपालको वैदेशिक व्यापारमा नयाँ आशा देखिएको विश्लेषकहरूको धारणा छ।
प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया