काठमाडौं । रुसको अमुर क्षेत्रमा करिब ५० यात्रु सवार एक विमान उडानको क्रममा सम्पर्कविहीन भएको छ। साइबेरियामा केन्द्रीत अंगारा एयरलाइन्सको एन–२४ मोडेलको विमान खाबारोभ्स्क–ब्लागोभेशचेन्स्क–टिन्डा उडानमार्गमा हराएको हो।
रुसी समाचार संस्था इन्टरफ्याक्सका अनुसार विमानमा पाँच बालबालिका र चालक दलका ६ सदस्यसहित कुल ४३ जना सवार थिए। रोयटर्सको प्रारम्भिक विवरणअनुसार सवारहरूको संख्या करिब ४० रहेको उल्लेख छ।
अमर क्षेत्रमा पर्ने टिन्डा विमानस्थलमा अवतरणको दोस्रो प्रयास गरिरहेका बेला विमान बेपत्ता भएको जनाइएको छ। विमानले पहिलो अवतरण प्रयास असफल भएपछि पुनः अवतरण प्रयास गर्दा सम्पर्क टुटेको हो।
रुसी समाचार संस्था तासले उद्धृत गरेको स्रोतका अनुसार, “एन–२४ विमान टिन्डा विमानस्थल नजिकैको तोकिएको चेकपोइन्टमा सम्पर्क गर्न असफल भयो।”
अमर क्षेत्रका गभर्नर भासिली ओर्लोभले टेलिग्राममार्फत सबै खोज तथा उद्धार संयन्त्र परिचालन गरिएको जानकारी दिएका छन्। टिन्डा सहर मस्कोबाट झण्डै ६ हजार ६ सय किलोमिटर पूर्वमा पर्छ।
अहिलेसम्म विमानको अवस्थाबारे कुनै आधिकारिक पुष्टि भएको छैन। खोजी र उद्धार कार्य तीव्र रूपमा जारी रहेको छ।
प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया