लमजुङ । लमजुङको बेंसीशहर नगरपालिका-७ स्थित खरखरे पहिरो क्षेत्रमा बिहीबार दिउँसो एक अटो करिब १०० मिटर तल मर्स्याङ्दी नदीमा खस्दा चालकसहित ६ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।
जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रहरी निरीक्षक राजकिशोर साहका अनुसार बेंसीशहरबाट खुदीतर्फ जाँदै गरेको ग.प्र.०४-००१ ह ०२८५ नम्बरको अटो दिउँसो करिब १:३० बजे अनियन्त्रित भई मर्स्याङ्दी नदीमा खसेको हो। पहिरोको जोखिमयुक्त सडकखण्डमा दुर्घटना भएको हो।
दुर्घटनापछि प्रहरी टोली स्थानीयवासी र यात्रुहरूको सहयोगमा घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो। घाइतेहरूलाई तत्काल प्रदेश अस्पताल, लमजुङ पठाइएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते हुनेमा ४५ वर्षीया स्यानु माया गुरुङ र ४५ वर्षीया सुस्मिता तामाङ रहेका छन्। उनीहरूको शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ। अन्य घाइतेहरूमा अन्जली गुरुङ (३५), धनकुमारी गुरुङ (४८), चालक टोपबहादुर लामा (३०) र शिला देवी गुरुङ (४०) छन्। उनीहरू मध्ये दुईको अवस्था मध्यम, दुईको सामान्य रहेको छ।
दुर्घटनामा परेकाे अटो मर्स्याङ्दी नदीमै डुबेकोले अझै फेला परेको छैन। अटोको खोजी कार्य जारी रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। सवारीधनीलाई पनि खोजी भइरहेको जनाइएको छ।
प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया