काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईमाथि विशेष अदालतले उठाएको नैतिक प्रश्नका सन्दर्भमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले सरकारसँग जवाफ मागेको छ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले अदालतबाट उठेको प्रश्नको आलोकमा अख्तियार प्रमुखलाई पदमा निरन्तरता दिनु आपत्तिजनक रहेको तर्क गरे।
“अख्तियार प्रमुखमाथि अदालतले नै नैतिक प्रश्न उठाएको अवस्थामा उहाँलाई पदमा निरन्तर राख्नु शोभनीय हुँदैन,” उनले भने, “नैतिक धरातल गुमाइसकेका व्यक्तिहरूले सार्वजनिक पदमा बसिरहनु सुशासनका सन्दर्भमा पनि उचित हुँदैन।”
प्रधानमन्त्री तथा सरकार नै भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई जोगाउने सुरक्षाकवच बन्ने खतरा रहेको आशंका व्यक्त गर्दै उनले उक्त विषयमा संसदमार्फत सरकारबाट स्पष्ट जवाफ आउनुपर्ने माग राखे।
“यस विषयमा सरकारको धारणा स्पष्ट गरियोस् भन्ने मागका साथ म सभामुखज्यू समक्ष रूलिङको आग्रह गर्दछु,” सांसद घर्तीले भने।
प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया