काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजराइललाई गाजामा हमास विरुद्धको कारबाही सक्न कडा निर्देशन दिएका छन्। शुक्रबार ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा ट्रम्पले इजराइली सरकारले गाजामा आक्रमण तीव्र पारेर हमासको पूर्ण अन्त्य गर्नु पर्ने बताएका हुन्। अमेरिकी सञ्चारमाध्यम सिएनएनका अनुसार, ट्रम्पले गाजाबाट हमासको “नामोनिशान मेटाउन” इजराइललाई निर्देशन दिएका हुन्।
“मलाई लाग्छ, हमासका लडाकुहरू मर्न चाहन्छन्, जुन निकै दु:खद हो। अब इजराइलले यो कार्य पूरा गर्नुपर्छ,” ट्रम्पले भनेका छन्। उनले हमास समाप्त नभएसम्म इजराइलमा शान्ति सम्भव नहुने दाबी गरेका छन्।
ट्रम्पले बन्धकको विषय उठाउँदै भने, “हमाससँग अझै केही बन्धक बाँकी छन्। त्यसैले उनीहरू युद्धविराम चाहँदैनन्। उनीहरूलाई थाहा छ, सबै बन्धकहरू छोडिएपछि उनीहरूको अन्त्य नजिकिन्छ।”
यसैबीच, हमाससँग भइरहेको युद्धविरामका लागि जारी कूटनीतिक छलफल पनि अन्योलमा परेको छ। शुक्रबार इजराइल र अमेरिका दुबै देशले दोहा (कतार) मा भइरहेको वार्ता टोलीलाई फिर्ता बोलाएका छन्। दुवैले हमास युद्धविरामका लागि गम्भीर नभएको भन्दै वार्ता स्थगित गरेका हुन्।
कतार, इजिप्ट र अमेरिकाको मध्यस्थतामा लामो समयदेखि गजामा युद्धविरामका लागि प्रयास जारी थियो। तर युद्धविराम सन्दर्भमा तयार गरिएको मस्यौदाका केही सर्तहरूप्रति हमासले असन्तुष्टि जनाएपछि वार्ता अवरुद्ध भएको हो।
यसअघि इजराइलले ट्रम्पका मध्यपूर्व विशेष दूत स्टिभ विटकोफद्वारा प्रस्तुत ६० दिनको युद्धविराम प्रस्तावमा सहमति जनाएको थियो। हमासले पनि सैद्धान्तिक रूपमा सहमति जनाए पनि केही सर्तमा संशोधन चाहिएको बताएका थिए। तर अमेरिकाले ती सर्तहरू अस्वीकार गरेपछि वार्ता भाँडिएको हो।
वार्ता टोली फिर्ता भए पनि इजराइलले वार्ताको ढोका पूर्णतः बन्द नभएको प्रतिक्रिया दिएको छ। उसले टोली प्राविधिक कारणले फिर्ता गरिएको दाबी गरेको छ। इजिप्टले पनि वार्ता पुनः सुरु हुन सक्ने सम्भावना रहेको बताएको छ।
कतारले भने यो अवस्थालाई ‘वार्ता निष्कर्ष नजिकै पुग्दा आएको भुइँचालो’को संज्ञा दिएको छ। “हामी अहिले पराकम्पको अवस्थामा छौं,” वार्तामा संलग्न एक अधिकारीले सिएनएनसँग भने।
यता गाजामा मानवीय संकट गहिरिँदो छ। बालबालिकाहरू कुपोषणको चरम अवस्थामा पुगेका छन्। खाद्य सामग्री, औषधि र शुद्ध पानीको चरम अभाव छ। अन्तर्राष्ट्रिय संघ–संस्थाहरूले पर्याप्त राहत आपूर्ति नपुगेको र इजराइलले सहायता पुग्न अवरोध गरिरहेको आरोप लगाएका छन्।
मानवीय सहायता वितरण स्थलमा भीड नियन्त्रण गर्न इसराइली सेनाले गोली प्रहार गर्ने घटना पटक–पटक सार्वजनिक भइसकेका छन्। तर इजराइलले भने गाजामा मानव संकट ‘बाहिर चर्चा गरिएजस्तो भयावह नभएको’ दाबी गरिरहेको छ।
संयुक्त राष्ट्रसंघलगायत धेरै देशहरूले गाजामा तत्काल युद्धविराम गरी मानवीय सहायता आपूर्ति सुनिश्चित गर्न इसराइल र हमास दुवैलाई आग्रह गरेका छन्।
प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार













प्रतिक्रिया