तेहरान । इरानको दक्षिणपूर्वी सिस्तान–बलोचिस्तान प्रान्तको राजधानी जाहेदानस्थित एक अदालत भवनमा शनिबार भएको सशस्त्र आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये पाँच जना सर्वसाधारण र तीन जना आक्रमणकारी रहेको इरानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।
आक्रमणकारीहरू पाहुनाका रूपमा भेष बदलेर न्यायालय परिसरमा प्रवेश गरेका थिए। उनीहरूले भवनभित्र प्रवेश गरेपछि अन्धाधुन्ध गोली प्रहार गर्नुका साथै विस्फोटक पदार्थ प्रयोग गरेको सुरक्षास्रोतले जनाएको छ। मारिनेहरूमध्ये एक वर्षे बालक र उनकी आमासमेत रहेका छन्।
घटनामा १३ जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतक संख्या बढ्न सक्ने अनुमान गरिएको छ। सुरक्षाकर्मीहरूसँग भएको भिडन्तमा तीनै आक्रमणकारी मारिएका छन्।
यस आक्रमणको जिम्मा पाकिस्तानमा आधारित तथा इरानमा समेत सक्रिय बलोच विद्रोही समूह ‘जैश अल अदल’ (न्यायको सेना) ले लिएको छ। समूह विगतमा पनि इरानमा सुरक्षा बलमाथि आक्रमण गर्दै आएको छ।
जाहेदान पाकिस्तान र अफगानिस्तानसँग सीमा जोडिएको संवेदनशील क्षेत्र हो। यहाँ बलोच अल्पसंख्यक, कट्टरपन्थी सुन्नी समूह र लागूपदार्थ तस्करहरूको गतिविधि बाक्लो पाइन्छ। यस क्षेत्रलाई सुरक्षाको दृष्टिकोणले अत्यन्त संवेदनशील मानिन्छ।
गत असोज महिनामा पनि यही क्षेत्रमा भएको सशस्त्र आक्रमणमा १० जना प्रहरी मारिएका थिए। इरानी अधिकारीहरूले त्यस घटनालाई पनि आतङ्ककारी हमला भनेका थिए।
प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार













प्रतिक्रिया