डेन्भर । अमेरिकाको डेन्भर अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार एक यात्रुवाहक विमान ठूलो दुर्घटनाबाट बच्न सफल भएको छ। अमेरिकन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ विमान मियामीका लागि उडान तयारी अवस्थामा रहँदा ल्यान्डिङ गियरमा समस्या देखिएपछि उडान तत्काल रोकिएको थियो।
उडान स्थगन भएपछि विमानको पछाडिको भागमा आगलागी भएको बताइएको छ। घटना अमेरिकी समयअनुसार दिउँसो २:४५ बजे भएको हो। विमानमा १७३ जना यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए। आगलागीपछि सबै यात्रु र चालक दलका सदस्यलाई आपतकालीन स्लाइडको प्रयोग गरी सुरक्षित रूपमा बाहिर निकालिएको थियो।
उक्त घटनामा ६ जनालाई सामान्य चोटपटक लागेको र तीमध्ये एक जनालाई थप उपचारका लागि अस्पताल भर्ना गरिएको डेन्भर विमानस्थल प्रशासनले जनाएको छ।
घटनाको अनुसन्धान संघीय उड्डयन प्रशासन (एफएए) र अमेरिकन एयरलाइन्सले संयुक्त रूपमा सुरु गरेका छन्।
यसैबीच, जुन १२ मा भारतको अहमदाबादमा बोइङ कम्पनीकै अर्को मोडेल ७८७-८ विमान उडान भर्ने क्रममा दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा २७० जनाले ज्यान गुमाएका थिए।
डेन्भरको घटना कुनै मानवीय क्षति नरहेको सकारात्मक पक्ष भए पनि बोइङ कम्पनीका विमानहरूमा देखा परिरहेका प्राविधिक समस्याले विश्वभरको उड्डयन सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको विज्ञहरूले बताइरहेका छन्।
प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार













प्रतिक्रिया