काठमाडाैं । लामो समयदेखि अन्तर्राष्ट्रिय समुदायको चर्को दबाब र गाजामा बढ्दो भोकमरीका कारण इजरायली सेनाले गाजा पट्टीमा हवाईमार्गबाट मानवीय राहत सामग्री खसाल्न थालेको छ।
आइतबार बिहान इजरायली रक्षा बल (आईडीएफ) ले एक विज्ञप्ति जारी गर्दै सहायता प्याकेजहरूमा पीठो, चिनी र डिब्बाबन्द खाद्य वस्तुहरू समावेश रहेको जानकारी दिएको छ। यी सामग्रीहरू विमानमार्फत गाजाको विभिन्न भागमा खसालिएको हो।
इजरायलले यसअघि संयुक्त राष्ट्रसंघ (यूएन) को सवारी लस्करलाई गाजामा प्रवेश गर्न दिने उद्देश्यले मानवीय कोरिडोर खोल्ने तयारी भइरहेको जनाएको थियो। महिनौँदेखि सीमित आपूर्ति र नाकाबन्दीका कारण गाजाका झण्डै २० लाख नागरिकहरू भोकमरीको चरम अवस्थामा पुगेका छन्।
गाजाबाट प्राप्त रिपोर्टहरू अनुसार, पछिल्ला दिनहरूमा भोकमरीकै कारण दैनिक मृत्यु भइरहेका छन्। त्यसैबीच, इजरायलमाथि जानाजानी भोकमरी फैलाउन खोजेको आरोप लाग्दै आएको छ, जुन आरोप इजरायली पक्षले स्पष्ट रूपमा अस्वीकार गरेको छ।
आईडीएफको अनुसार, “गाजामा सहायता पुर्याउने जिम्मेवारी संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय एजेन्सीहरूको हो। उनीहरूले सहायता वितरणमा सुधार ल्याउनुका साथै, ती सामग्रीहरू हमासको हातमा नपुग्ने व्यवस्था गर्नुपर्ने अपेक्षा गरिएको छ।”
तर सहायता निकायहरू र मानव अधिकार संस्थाहरूले इजरायलको यो कदमलाई प्रतीकात्मक मात्र बताउँदै वास्तविक समाधान नहुने प्रतिक्रिया दिएका छन्।
अन्तर्राष्ट्रिय उद्धार समिति (IRC) का वरिष्ठ अधिकारी किरोन डोनेलीका अनुसार, “हवाईमार्गबाट राहत खसालेर गाजाको गम्भीर संकट समाधान गर्न सकिन्न। यसले न त पर्याप्त मात्रा पुर्याउँछ, न त गुणस्तरीय आपूर्ति सुनिश्चित गर्छ।”
संयुक्त अरब इमिरेट्स (यूएई) र जोर्डनले पनि आगामी दिनहरूमा गाजामा हवाईमार्गमार्फत सहायता खसाल्ने तयारी गरिरहेको जनाएका छन्।
यसैबीच, गाजामा युद्ध सुरु भएयता भोकमरीका कारण मृत्यु हुनेको संख्या १२७ पुगेको छ। गाजा स्वास्थ्य मन्त्रालयका अनुसार, तीमध्ये ८५ जना बालबालिका छन्। शनिबार मात्रै कुपोषणका कारण पाँच जनाको ज्यान गएको बताइएको छ।
हाल गाजामा कार्यरत हजारौँ अन्तर्राष्ट्रिय सहायता संस्था र मानव अधिकार समूहहरूले तत्काल र ठोस मानवीय पहुँच नखुले अनिकाल झनै भयावह हुने चेतावनी दिइरहेका छन्।
प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार













प्रतिक्रिया