काठमाडौं । गाजामा गम्भीर खाद्य संकटका बीच, इजरायली सेनाले राहत वितरण सहज बनाउने उद्देश्यले दैनिक १० घण्टा युद्धविराम गर्ने घोषणा गरेको छ।
इजरायली सेनाले आइतबारदेखि लागू हुने गरी स्थानीय समय अनुसार बिहान १० बजेदेखि साँझ ८ बजेसम्म अल–मावासी, डियर अल–बालाह र गाजा सिटी क्षेत्रमा सबै प्रकारका सैन्य गतिविधि स्थगन गर्ने जनाएको हो।
युद्धविरामको उद्देश्य गाजामा राहत सामग्री—विशेषगरी खाद्यान्न र औषधिको—सुरक्षित रूपमा आपूर्ति सुनिश्चित गर्नु हो। इजरायली रक्षा फोर्स (आईडीएफ) का अनुसार, सहायता बोकेका गाडीहरूलाई बिहान ६ बजेदेखि राति ११ बजेसम्म तय गरिएको सुरक्षित मार्गमार्फत सञ्चालन गरिनेछ।
गाजामा मानवीय संकट दिनप्रतिदिन भयावह बन्दै गएको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, युद्ध सुरुभएयता कम्तीमा १२७ जनाको मृत्यु भोकमरीका कारण भइसकेको छ, जसमा ८५ बालबालिका छन्।
शनिबार मात्रै पाँच महिनाकी शिशु जैनाव अबु हलीदको कुपोषणका कारण निधन भएको पुष्टि गरिएको छ।
बालिकाकी आमा इसरा अबु हलीबले भनिन्, “तीन महिनासम्म अस्पतालमा राखेँ, अन्त्यमा छोरीको ज्यान गयो।”
युद्धविरामको घोषणा अन्तर्राष्ट्रिय दबावको प्रभावमा आएको मानिएको छ। गार्जियन पत्रिकाको विश्लेषण अनुसार, इजरायलले मानवीय संकटप्रति बेवास्ता गरेको आरोप चुलिँदै गएपछि यो रणनीतिक कदम चालेको हो।
युद्धविरामको घोषणा हुनु केही घण्टाअघि इजरायली पक्षले हवाईमार्फत राहत सामग्री फ्याँक्ने योजना बनाएको थियो। तर, सो योजना परिवर्तन गर्दै अहिले स्थलमार्गबाट नै राहत ढुवानी गरिने निर्णय लिइएको हो।
आइतबार मात्रै १,२०० मेट्रिक टनभन्दा बढी खाद्यान्न बोकेका १०० भन्दा बढी ट्रक गाजाको केरम शालोम नाका हुँदै प्रवेश गरेको इजिप्टस्थित रेडक्रसले जानकारी दिएको छ।
गाजामा राष्ट्रसंघीय सहायता संयन्त्रमाथि प्रतिबन्ध लगाइँदै आएको छ। हाल राहत वितरण अमेरिका समर्थित इजरायली संस्थामार्फत गरिएको छ, जसलाई राष्ट्रसंघले मान्यता दिएको छैन।
राष्ट्रसंघले राहत वितरणमा सहजता ल्याउन सैन्य गतिविधि रोक्न इजरायललाई बारम्बार आग्रह गरे पनि, इजरायली पक्षले आवश्यक मार्ग उपलब्ध नगराएको गुनासो गरेको छ।
मार्चदेखि बन्द गरिएको सहायता, इजरायलले मे महिनादेखि नयाँ नियमसहित पुनः खोल्न थालेको हो। तर, इजरायली पक्षले “सहायता आतंककारीहरूको हातमा पर्न नदिने” भन्दै कडा नियन्त्रण कायम राखेको छ।
गाजामा विद्रोही संगठन हमास र इजरायली सेनाबीचको संघर्ष जारी नै छ। इजरायली सेनाले राहत लिन आएका नागरिकहरूको भीडमा हमासका लडाकूहरू मिसिएको भन्दै धेरैपटक गोली चलाएको छ, जसमा निर्दोष नागरिकको ज्यान गएको छ।
युद्धविरामका लागि वार्ता थालिएको भए पनि सार्थकता आउन सकेको छैन। अमेरिका र इजरायलले हमास वार्तामा गम्भीर छैन भन्दै वार्ता असफल हुने टिप्पणी गरेका छन्।
प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार













प्रतिक्रिया