काठमाडाैं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिकैको भण्डास बिप्पर कटेरी भन्ने स्थानबाट एकै घरका १६ जना परिवार सम्पर्कविहीन भएका छन्। हराएका सबैजना उर्मिला हायुको परिवारका सदस्य रहेको वडा अध्यक्ष रबिन श्रेष्ठले जानकारी दिएका छन्।

श्रेष्ठका अनुसार परिवारका सबै सदस्य तीन दिनदेखि सम्पर्कमा नरहेका छन्। घरमा सामान्य क्षति देखिए पनि मानिसहरू नभेटिँदा स्थानीयमा चिन्ता बढेको छ। “घरमा बाँधिएका बाख्रा, कुखुरा, र भैँसीहरू अलपत्र अवस्थामा छन्। गोठमा बाँधिएको भैँसीलाई समेत तीन दिनदेखि घाँस हालिएको छैन,” उनले भने।

advertisement

वडा अध्यक्ष श्रेष्ठले हराएको घर एकान्त स्थानमा रहेको र अरू घर पुग्न १५ मिनेटभन्दा बढी समय लाग्ने बताए। “परिवार कहिले घर छाडेर गए भन्ने ठ्याक्कै थाहा छैन। हालसम्म उनीहरू कहाँ छन् भन्ने कुनै सुराग छैन,” उनले थपे।

घटना बारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले खोजी कार्य प्रारम्भ गरेको छ। प्रहरी प्रमुख एसपी लालध्वज सुबेदीले मोबाइलको लोकेशन ट्र्याक गरी खोजी कार्य अघि बढाइएको जानकारी दिए।

“केही दिनअघि उनीहरूले भत्ता लिएको पत्ता लागेको छ। सम्भवतः कतै घुम्न गएका पनि हुन सक्छन्,” सुबेदीले भने, “तर, परिवारका सबै जना लामो समयसम्म सम्पर्कमा नआउँदा गम्भीर रूपमा अनुसन्धान सुरु गरेका छौं।”

घटनाले स्थानीयमा त्रास उत्पन्न गराएको छ भने परिवारको सकुशल अवस्था पुष्टि गर्न प्रहरी प्रशासनले तिव्र प्रयास गरिरहेको छ।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com