काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीमा बसोबास गर्दै आएको उर्मिला हायुको परिवारका १६ सदस्य एकैचोटि बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार गत साउन ८ गते (बिहीबार) हायु परिवारले आफ्नै घरमा सुँगुर काटेर भोज गरेको पुष्टि भएको छ। त्यसपछि उनीहरू अचानक सम्पर्कविहीन भएका हुन्।

advertisement

गोलन्जोर गाउँपालिका अध्यक्ष शंकरराज बरालका अनुसार हायु परिवारको घर एकान्त र दुर्गम स्थानमा रहेकाले घटना थाहा पाउन ढिलाइ भएको हो।

घर वरिपरि जलेका काठ, छाप्रोमा देखिएको आगोको अवशेष, झुन्डिएका केही लुगाफाटा र घर बाहिर छोडिएका भाँडाकुँडाले स्थानीयलाई शंका उत्पन्न गराएको छ। तर घर भने सुनसान छ, कुनै मानिस भेटिएको छैन।

बेपत्ता परिवारको खोजीमा स्थानीयबासी, गाउँपालिका र प्रहरी सक्रिय छन्। उर्मिला हायुको समुदायको बाक्लो बसोबास रहेको रामेछापमा समेत खोजी सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।

एसपी सुवेदीले भने, “हाम्रो टोली रामेछापका सम्भावित स्थानमा पनि खटिएको छ, तर अहिलेसम्म उनीहरू भेटिएका छैनन्।”

केही स्थानीयले प्रहरीलाई परिवारको आर्थिक अवस्था कमजोर रहेको र ठूलो मात्रामा ऋण रहेको बताएका छन्। सम्भवतः त्यसैको तनावले परिवार सम्पर्कविहीन भएको हुन सक्ने अनुमान गरिएको छ। तर हालसम्म यसको पुष्टि भइसकेको छैन।

यसबीच रामेछापका डीएसपी भोलाकुमार भट्टले पनि हायु परिवारको खोजी कार्य तीव्र पारिएको बताएका छन्। “हाम्रो टोलीले हायु समुदायको बस्तीमा खोजी गरिरहेको छ। अझै अन्य सम्भावित स्थानहरूमा पनि अनुसन्धान जारी छ,” उनले भने।

प्रहरीले घटना रहस्यमय रहेको जनाउँदै परिवारको अवस्थाबारे यकिन जानकारी आउन अझै केही समय लाग्ने जनाएको छ। स्थानीयले पनि खोजी कार्यमा साथ दिइरहेका छन्।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com