काठमाडौं । कम्बोडिया र थाइल्याण्डबीच कुनै पनि सर्त नलगाई युद्धविराम गर्ने सहमति भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै देशलाई शत्रुता रोक्न चेतावनी दिएका थिए, अन्यथा व्यापार वार्ता नहुने स्पष्ट सन्देश दिएका थिए। त्यसपछि युद्धविरामका लागि सहमति बनेको हो।

advertisement

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले जानकारी दिँदै कम्बोडियाका प्रधानमन्त्री हुन मानेट र थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुम्थम वेचायचाई युद्ध रोक्न तयार भएको बताए। उनले युद्धविराम सोमबार राति १२ बजेदेखि लागू हुने जनाए।

अनवरले भने, “यो द्वन्द्व अन्त्य गर्न र शान्ति तथा सुरक्षा कायम गर्न एक ऐतिहासिक पहल हो।”कम्बोडियाका प्रधानमन्त्री मानेटले मलेसियामा भएको वार्ता सकारात्मक रहेको भन्दै तत्काल युद्ध रोक्ने आशा व्यक्त गरे। उनले युद्धका कारण दुबै देशका गरी तीन लाख नागरिक विस्थापित भएको जानकारी पनि दिए।

प्रधानमन्त्री मानेटले वार्तामा मध्यस्थता र समर्थन प्रदान गरेकामा मलेसिया, अमेरिका तथा चीनलाई धन्यवाद व्यक्त गरे। उनले थाई समकक्षी फुम्थम वेचायचाईप्रति पनि सहकार्यका लागि कृतज्ञता व्यक्त गरे।

मलेसियाली प्रधानमन्त्री अनवरले युद्धविरामपछि दुबै देशका उच्च सैनिक अधिकृतहरूबीच अनौपचारिक बैठकको तयारी भइरहेको जानकारी दिए।

थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुम्थम वेचायचाईले पनि आफ्ना धारणा सार्वजनिक गर्दै शान्तिका पक्षमा आफूहरू दृढ रहेको बताए। उनले युद्धविराम सहमति आपसी समझदारी र सद्भावनाको परिणाम भएको उल्लेख गरे।

दुवै देशबीच बढ्दै गएको तनाव अन्त्य गर्दै द्वन्द्व समाधानतर्फ लम्किएको यो कदमलाई अन्तर्राष्ट्रिय समुदायले स्वागत गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com