काठमाडाैं । नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको नेतृत्वमा इन्द्र बानियाँ पुनः निर्वाचित भएका छन्। बुधबार हेटौंडामा सम्पन्न मतदानमा बानियाँले बहुमत प्राप्त गर्दै दलको नेतामा निर्वाचित भएका हुन्।
कुल ३७ मत खसेकोमा बानियाँले २२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी बहादुर सिंह लामाले १४ मत पाए। एक मत बदर भएको थियो। बागमती प्रदेशसभामा कांग्रेसका कुल ३७ सांसद रहेकोमा बानियाँले बहुमत आवश्यक २२ मत प्राप्त गरेर विजयी भएका हुन्।
यसअघि बानियाँकै नेतृत्वमा तत्कालीन संसदीय दलका नेता लामा विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो, जुन २२ मतले पारित भएको थियो। त्यसपछि रिक्त भएको दलको नेताको पदका लागि बुधबार निर्वाचन गरिएको हो।
यो कार्यकालमा बानियाँ र लामा दोस्रो पटक संसदीय दलको नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएका थिए। २०७९ मा भएको निर्वाचनमा लामा विजयी भएका थिए भने बानियाँले हार बेहोरेका थिए।
नयाँ दल नेतामा निर्वाचित इन्द्र बानियाँ कांग्रेसको बागमती प्रदेश समितिका सभापति समेत हुन्। बानियाँको जितसँगै कांग्रेसको बागमती प्रदेश नेतृत्वमा नयाँ समीकरण निर्माण हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार











प्रतिक्रिया