काठमाडाैं । भारत शासित जम्मु–कश्मीरको कुलगाम जिल्लामा सुरक्षाकर्मी र आतङ्ककारीबीच भएको भीडन्तमा दुई जना आतङ्ककारी मारिएका छन्। कुलगामको अखल क्षेत्रमा बिहीबार रातिदेखि जारी सुरक्षाबलको अपरेशनमा अहिलेसम्म दुई आतङ्ककारीको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भारतीय सेना, जम्मु–कश्मीर प्रहरी, केन्द्रीय रिजर्भ प्रहरी बल (CRPF) र विशेष अभियान समूह (SOG) को संयुक्त टोलीले आतङ्कवादविरोधी अभियान सञ्चालन गरेको हो। अपरेशन अझै जारी रहेको र शंका लागेका स्थानमा व्यापक घेराबन्दी गर्दै खोजी कार्य तीव्र पारिएको सुरक्षास्रोतले जनाएको छ।
भारतीय सेनाको चिनार कोरले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा लेख्दै भनेको छ, “कुलगाममा रातभर रुकिरुकि भीषण गोली हानाहान भयो। सतर्क सैनिकहरूले आतङ्ककारीहरूलाई जवाफ दिए र उनीहरूलाई भाग्न नदिन घेराबन्दी अझ कडा पारियो।”
सुरक्षाधिकारीहरूका अनुसार, क्षेत्रमा अझै केही आतङ्ककारी लुकेका हुनसक्ने आशंकामा घर–घर खानतलासी भइरहेको छ। सुरक्षाबलले नागरिकको सुरक्षालाई ध्यानमा राख्दै संयमित ढंगमा अपरेशनलाई निरन्तरता दिइरहेको बताइएको छ।
यस क्षेत्र आतङ्कवाद प्रभावित मानिएकाले बेलाबेलामा यस्तो भिडन्त हुने गरेको छ। पछिल्लो कारबाहीमा सुरक्षाबलको कुनै क्षति भएको खबर आएको छैन।
प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार













प्रतिक्रिया