काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले विचार, नीति र कार्यदिशा मिलेको खण्डमा नेकपा माओवादी केन्द्र सँगको पार्टी एकतालाई कसैले रोक्न नसक्ने बताएका छन्।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले भने, “विचार मिल्ने घटकसँग पार्टी एकीकरण हुन सक्छ भनेर हामीले केन्द्रीय परिषदको बैठकबाट निर्णय पारित गरिसकेका छौं । हामी पाँच दल मात्र होइन, बाहिरका समूहलाई पनि सँगसँगै लिएर हिँड्ने कोसिसमा छौं । तर तत्कालै, आजै वा अहिले नै पार्टी एकीकरणको कुरामा हामी पुगेका छैनौं।

advertisement

उनले भने, ‘कहीं कतै दक्षिणपन्थी र उग्रवापन्थी भड्काउ भएका भए पनि देशका सबै वामपन्थी शक्तिहरु साझा मुद्दा एक भएर अघि बढ्नु ऐतिहासिक आवश्यकता हो । समाजवाद प्राप्ति दीर्घकालीन रणनीतिक कुरा हो । आवश्यकताका आधारमा कार्यनीतिक एकताका कुरा हुन्छन् । एमालेका साथीहरुले पनि विगत दुई वर्षका घटनालाई गम्भीरतापूर्वक समीक्षा गर्नुपर्छ।’

नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग पनि राजनीतिक संवाद जरुरी भएको खनालले बताए । उनले थपे, ‘उहाँसँग मेरो अस्ति एकछिन जम्काभेट भएको थियो । कुशल मंगलबारे अलिकति कुरा गर्यौं । राजनीतिक संवाद भएन । अब कसैले पनि ढोका बन्द गरेर बस्नु जरुरी छैन । यो वादे वादे जयते तत्त्वबोध भनेजस्तै हो ।’ चीनले वामपन्थी एकता गर्न तपाईंलाई दबाब दिएको भनिन्छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा खनालले भने, ‘चीनले मात्र किन भन्नुहुन्छ ऋषिजी ? विश्वभरिका प्रगतिशील शक्तिहरु नेपालको कम्युनिस्ट आन्दोलन एकताबद्ध होस् भन्ने चाहन्छन् । त्यसमा झलनाथ खनालले कुनै भूमिका खेल्न सक्छ भने किन नखेल्ने ? वामपन्थी एकता आजको आवश्यकता हो । तर मैले यो गठबन्धन छाड्नुपर्छ पनि भनेको छैन।’

नेपाली कांग्रेसले सय सिट माग्दैमा नपाउने पनि उनले दाबी गरे । खनालले थपे, ‘हरेक पार्टीले त्यस्ता निर्णय गर्न सक्छन्। कांग्रेसको कुरा कसले स्वीकार गर्छ र ? गठबन्धन गर्ने हो भने सम्मानजनक ढंगले सिट तालमेल हुनुपर्छ । कसैले माग्दैमा दिने भन्ने कुरा हुँदैन। आवश्यकता र औचित्य के हो ? कांग्रेसले दम्भ गर्‍यो भने सिङ भाँच्चिन्छन् । अहिले हामीले गठबन्धन टुटाउने सोचेका छैनौं। भागबन्डा मिलेन भने गठबन्धन रहँदैन । जसरी पनि गठबन्धन गर्नुपर्छ भन्ने केही छैन।’

प्रकाशित मिति: ४ श्रावण २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com