काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमेनिस्तानको अवाजा सहर प्रस्थान गर्दै छन्। उनी साउन २० देखि २३ गतेसम्म (अगस्ट ५ देखि ८, २०२५) आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीलाई तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले औपचारिक निमन्त्रण गरेका हुन्।
सम्मेलनमा प्रधानमन्त्री ओलीले कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरो (ग्लोबल कोअर्डिनेसन ब्युरो) का अध्यक्षको हैसियतले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। साथै, उनी सम्मेलनको एक उच्चस्तरीय गोलमेच बैठकमा सह–अध्यक्षको भूमिकामा पनि सहभागी हुनेछन्। विभिन्न सत्रहरूमा समेत प्रधानमन्त्रीले विचार राख्ने कार्यक्रम रहेको मन्त्रालयले जानकारी दिएको छ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न राष्ट्रका प्रतिनिधिमण्डल प्रमुखहरू तथा संयुक्त राष्ट्रसंघका अधिकारीहरू लगायत अन्तर्राष्ट्रिय संस्थाहरूका उच्चपदस्थ व्यक्तिहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।
प्रधानमन्त्री ओलीसँगै भ्रमणमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, संघीय सांसद सूर्यबहादुर थापा क्षेत्री तथा अन्य उच्चस्तरीय सरकारी अधिकारीहरू पनि सहभागी छन्।
प्रधानमन्त्री ओली साउन २३ गते स्वदेश फर्किने कार्यक्रम छ।
प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार












प्रतिक्रिया