काठमाडौं । शिक्षासेवी टेकबहादुर जिरेलको पहिलो कवितासङ्ग्रह ‘जिरीसिक्रीको सुसेली’ आइतबार काठमाडौंमा सार्वजनिक गरिएको छ। पर्यटन प्रवर्द्धन मञ्च, नेपालले प्रकाशन गरेको कृतिमा ७१ वटा कविता समावेश छन्।
दोलखाको जिरीमा जन्मिएका र तीन दशकभन्दा बढी शिक्षण पेशामा समर्पित जिरेलका कवितामा जीवन दर्शन, मायाप्रेम र माटोप्रेम झल्किएको बताइएको छ।
नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित सार्वजनिक कार्यक्रममा साहित्य, कला र पत्रकारिताका अग्रजहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुख वक्ता कवि ज्योति जङ्गलले जिरेलका कवितामा “जन्मथलोको सुगन्ध” पाइने प्रतिक्रिया दिँदै माटोप्रतिको प्रेम स्पष्ट देखिने बताइन्।
कार्यक्रममा विशिष्ट अतिथि हास्यव्यङ्ग्यकार मनोज गजुरेलले कवि जिरेललाई शुभकामना दिँदै जिरीसँग जोडिएका आफ्ना स्मृतिहरू साझा गरेका थिए। जिरी नगरपालिकाका मेयर मित्र जिरेलले कविलाई माला अर्पण गरी सम्मान गरेका थिए।
कार्यक्रममा कवि एवं आख्यानकार अनुपम रोशीले कविसँग अन्तरसंवाद गर्दै जिरेलको कवितायात्रा, प्रेमिल जीवन र संघर्षका पक्षमा प्रश्नोत्तर गरेकी थिइन्।
पुस्तक सार्वजनिक गर्ने क्रममा डा. अभि सुवेदी, जयराज अवस्थी, निर्मलमान तुलाधर, मनबहादुर मुखिया, रमेश श्रेष्ठ, शैलेन्द्र साकार, उषा शेरचन, सुलोचना मानन्धर, रोचक घिमिरे, पत्रकार शेखर खरेललगायत स्रष्टाहरूको उपस्थिति रहेको थियो।
प्रकाशन संस्था प्रमुख लिलाराम खड्काले पुस्तक प्रकाशनको उद्देश्य योगदानमुखी स्रष्टाको सम्मान गर्नु रहेको बताए।
पत्रकार अमृत भादगाउँले कार्यक्रममा बोल्दै कविलाई आत्मकथा लेखन सुरु गर्न आग्रह गरेका थिए। पुस्तक हार्डकभरमा प्रकाशित गरिएको छ र मूल्य ४९९ रुपैयाँ तोकिएको छ।

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार












प्रतिक्रिया