काठमाडाैं । अमेरिकी विदेश मन्त्रालयले व्यापार तथा पर्यटक भिसाका लागि आवेदन दिने व्यक्तिहरूलाई अब अधिकतम १५ हजार डलरसम्मको आर्थिक बोन्ड (धितो) राख्नुपर्ने प्रस्ताव अघि सारेको छ।

यो प्रस्ताव अन्तर्गत मन्त्रालयले १२ महिनासम्म लागू हुने “पाइलट कार्यक्रम” सुरु गर्ने तयारी गरिरहेको छ, जसमा उच्च ‘ओभरस्टे दर’ (भिसाको अवधि सकिएपछि पनि फर्किनु नपुगेको दर) भएका तथा कागजात प्रमाणीकरण प्रणाली कमजोर रहेका देशहरूका आवेदकहरू समेटिनेछन्।

advertisement

यस योजनाअनुसार भिसा आवेदन गर्दा ५ हजार, १० हजार वा १५ हजार डलरसम्मको बोन्ड राख्नुपर्ने हुनसक्छ। यदि भिसाका सर्तहरू पालना नगरिएमा अमेरिकी सरकार आर्थिक रूपमा जिम्मेवार नहुने स्पष्ट पारिएको छ।

यो प्रस्ताव राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका पालादेखिको भिसा कडाई गर्ने नीति अनुरूप आएको हो। एपी (एसोसिएटेड प्रेस) का अनुसार हालै विदेश मन्त्रालयले धेरैजसो भिसा नवीकरणका लागि अब अनिवार्य रूपमा व्यक्तिगत अन्तर्वार्ता दिनुपर्ने व्यवस्था पनि सुरु गरेको छ। साथै, डाइभर्सिटी लटरी भिसाका लागि आवेदन गर्दा वैध राहदानी अनिवार्य बनाउने प्रस्तावसमेत अघि सारिएको छ।

सोमबार फेडरल रजिस्टरको वेबसाइटमा सार्वजनिक गरिएको सूचनामा पाइलट कार्यक्रम घोषणा भएको १५ दिनभित्र लागू हुने उल्लेख छ।

बोन्ड राख्नुपर्ने व्यवस्था भने सबैमा लागू नहुने बताइएको छ। भिसा छूट कार्यक्रम (Visa Waiver Program) मा सामेल भएका ४२ देशका नागरिकहरूलाई यसले असर गर्दैन। ती नागरिकहरू ९० दिनसम्म व्यापार वा पर्यटनको उद्देश्यले अमेरिका यात्रा गर्न पाउँछन्।

यी ४२ देशमध्ये अधिकांश युरोपेली मुलुक हुन् भने केही एसिया, मध्यपूर्व र अन्य क्षेत्रका पनि छन्। यसअघि पनि बोन्ड राख्ने प्रस्तावहरू आएका थिए तर कार्यान्वयनमा भने ल्याइएको थिएन।

बोन्डसम्बन्धी निर्णय आवेदकको व्यक्तिगत पृष्ठभूमि र जोखिम मूल्याङ्कनका आधारमा गरिने जनाइएको छ, र केही अवस्थामा छुटको व्यवस्था पनि रहनेछ।

प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com